प्रचण्डको गृहजिल्लामा नेकपाले जोगाउन सकेन पद, तिनवटै वडामा कांग्रेस विजयी
चितवन , १५ मंसिर।
नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनमा भएको उपनिवार्चनमा नेपाली कांग्रेस विजयी भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६ , खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका हुन् ।
भरतपुर १६ मा तिन हजार १ सय ८३ मत ल्याएर नेपाली कांग्रेसका अमृतराज हमाल विजयी भएका छन् । उनले आफ्नो प्रतिस्पर्धी नेकपाका भक्तराज हमाललाई तिन सय ८ मतले पछि पार्दै विजयी भए । यसअघि साविकको नेकपा एमालेका चतुरमान गुरुङ विजयी भएको वडामा नेकपा एमाले र माओवादी केन्द्रको एकिकरणपछि भएको नेकपाले वडा अध्यक्ष पद गुमाउन परेको छ । एमालेका उम्मेदवार गुरुङसँग ६४ मतले हारेका हमालले अहिले नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् ।
त्यस्तै खैरहनी ४ मा एक हजार १ सय ३८ मत ल्याएर कांग्रेसकै देव बहादुर बस्नेत विजय भए । उनले आफ्नो प्रतिस्पर्धी नेकपाका वेद बहादुर अधिकारीलाई एक सय ५२ मतले पछि पारे । खैरहनी ५ मा पनि नेपाली कांग्रेसकी प्रतिमा कार्की बस्नेत विजयी भएकी छन् । आठ सय ४२ मत ल्याएर उनी विजयी भइन् भने उनको प्रतिस्पर्धी पुननारायण महतोले साँत सय ५६ मत ल्याएका थिए । विजयी भएकी कार्की खैरहनी ५ का वडा अध्यक्ष स्वर्गिय विश्व विजय बस्नेतको श्रीमती हुन् । बस्नेतको सवारी दुर्घटनामा निधन भएको थियो ।