हात्ती महोत्सवको नाफा ४७ हजार

चितवन , १७ साउन

चितवनको सौराहामा गत पुषमा भएको १५ औँ हात्ती महोत्सवमा ४७ हजार रुपैयाँ नाफा भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि हात्ती महोत्सवको हिसाव सार्वजनिक गरिएको थियो ।

हात्ती महोत्सवमा कुल ४० लाख ९० हजार रुपैयाँ आम्दानी भएको र ४० लाख ४२ हजार १ सय ७९ रुपैँया खर्च भएको महोत्सवको आर्थिक समिती सह संयोजक गंगा गिरीले जानकारी दिए । क्षेत्रिय होटल संघ चितवनले आयोजना गरेको महोत्सवमा ४७ हजार ८ सय २१ रुपैँयाँ बचत भएको महोत्सवमा करिब ११ लाख रुपैयाँ उठाउन बाकी भएको र करिब ५ लाख रुपैँया भुत्तानी दिन बाकीँ रहेको लेखापरिक्षण प्रतिवेदनमा देखिएको छ ।

क्षेत्रिय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको हिसाव सार्वजनिक कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन , चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत ऋषि रानाभाट , राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका रामकुमार अर्याल , मृगकुञ्जका मध्यवर्तीका अध्यक्ष वासुदेव ढुगांना , संघका प्रथम उपाध्यक्ष दिपक भट्टराई लगायतकाले बोलेका थिए ।