चितवनमा २२० केजी गाँजा सहित एकजना पक्राउ

चितवन , असार १७
चितवनमा अवैध लागुऔषध गाँजा सहित एकजना पक्राउ परेका छन् । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ४ भवानीपुरबाट प्रहरीले करिब २२० केजी गाँजा सहित हेटौँडा नगरपालिका वडा नम्बर ७ बस्ने सौगात श्रेष्ठलाई पक्राउ गरेको हो ।

गाँजा तस्करी हुने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएकोे टोलीले गएराती ३ बजे गाँजा बरामद गरेको हो । ना २ ख २२९५ नम्बरको टिप्परमा गाँजा राखेर लैजाँदै गरेको अवस्थामा गाँजा सहित टिपरको चालकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरिक्षक वसन्त आचार्यले जानकारी दिए । टिपर र टिपर चालकलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको प्रहरी निरिक्षक आचार्यले बताए । चेपाङ समुदायको बाहुल्यता रहेको राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा गाँजा खेती हुदै आएको छ । प्रहरीले सक्रियता बढाएसँगै गाँजा बरामद हुने क्रम बढेको छ ।