गोन्द्राङको ढाट हटाउन माग
चितवन , १७ असार
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत भरतपुर महानगरपालिका वडा नम्वर १२ गोन्द्राङमा रहेको ढाटमा चितवनका स्थानीय जनतालाई कर नलिन सर्वपक्षिय बैठकले आग्रह गरेको छ । एउटै जिल्ला भित्र आवातजावत गर्दा पनि कर तिर्नुपर्ने भन्दै ब्यापक बिरोध भएपछि आज बसेको जिल्लाका जनप्रतिनिधी, दलका नेता, स्थानीय प्रशासन, उद्योगी ब्यवसायी, नागरिक समाजको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले गोन्द्राङ ढाटलाई स्थानान्तरण गराउन, बैज्ञानिक ढंगले कर निर्धारण गर्न केन्द्रिय सरकारमा डेलिगेशन जाने निर्णय पनि गरेको छ । ढाट स्थानान्तरण बारे केन्द्रवाट नीतिगत निर्णय नआउन्जेल सम्म एउटै जिल्ला भित्र आवातजावत गर्न चितवनका जनतालाई कर नलिने व्यवस्था मिलाउन स्थानिय प्रशासनलाई सर्वपक्षिय बैठकले आग्रह गरेको हो । नेकपा चितवनका अध्यक्ष यमवहादुर परियारको अध्यक्षतामा भएको बैठकमा प्रतिनिधी सभा सदस्य पोखरेल, भरतपुर महानगर प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, राप्ती नगर प्रमुख प्रभा वराल , सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी प्रमुख दानवहादुर मल्ल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उवासंघका अध्यक्ष राजाराम रेग्मी लगायतको उपस्थिती रहेको थियो ।
बैठकमा उपस्थित सबैले ढाट हटाउनुपर्ने नत्र आन्दोलनमा जानुपर्ने बाध्यता हुने बताए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पूर्वीचितवनवासीले आफुनै जिल्लामा हिड्दा कर तिर्नुपर्ने अवस्था र्दुभाग्य भएको भन्दै पूर्वीचितवनवासीले कर नतिर्ने उद्घोष गर्दै त्यसको लागि जस्तोसुकै आन्दोलनमा उत्रने चेतावनी दिए ।