स्वार्थमा काम नगर्न मेयरको निर्देशन

असोज १६ गते । खैरहनी नगरपालिकामा सरुवा भई आएका कर्मचारी र सरुवा भई जान लागेका कर्मचारीहरुलाई विहीवार नगरपालिकाले स्वागत तथा विदाई गरेको छ । सोही अवसरमा विजयादशमी,शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान समेत गरिएको छ । नगरपालिकामा एक कार्यक्रमकाबीच कर्मचारीहरुको विदाई तथा स्वागत गरिएको हो । सो अवसरमा वोल्दै खैरहनीका मेयर लालमणी चौधरीले व्यक्तिगत स्वार्थ र विचारमा अभिप्रेरित भएर काम नगर्न कर्मचारीहरुलाई निर्देशन दिए । सवैको आआफ्नो विचार हुन्छ मेयर चौधरीले भने कार्यालय भित्र प्रवेश गरिसकेपछि कुनै पनि विचारमा रहेर कर्मचारीले काम गर्नु हुन्न । कामको सन्र्दभमा कुनै पनि कर्मचारीले ठुलो सानो भनेर नगर्न सुझाए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले नगरको गोपनियतालाई ख्याल गर्न आग्रह गरे । नगरपालिकामा करिव डेढ वर्ष काम गरेका प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेल,इन्जिनियर राजेश कोईराला ,स्वास्थ्य संयोजक माया पाण्डे लगायत कर्मचारीहरुलाई विदाई गरिनुका साथै नयाँ आएका प्रशासकीय अधिकृत दामोदर अधिकारीसहितलाई स्वागत गरिएको थियो । विदाई गरिएका पुरुष कर्मचारीहरुलाई मेयर चौधरीले ढाका टोपी लगाई दिएका थिए ।