चितवनमा विद्यालयको भवन निर्माणमा चरम लापरबाही , बालुवा माथी नै पनिङ

चितवनमा विद्यालयको भवन निर्माणमा चरम लापरबाही , बालुवा माथी नै पनिङ

चितवन , १८ साउन

चितवनमा विद्यालयको भवन निर्माणमा चरम लापरबाही भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर २ मा रहेको जनजीवन माध्यमिक विद्यालयको चार कोठाको भवन निर्माण अन्तर्गत भुई प्लाष्टरमा चरम लापरबाही भएको रहस्य बाहिर आएको छ ।

विद्यालयको माथिल्लो तलाको भुईको प्लाष्टरमा बालुवा माथी नै पनिङ भएको स्थानियको आरोप छ । विद्यालय व्यवस्थापन पक्षले निगरानी नगर्दा काम सकिएको भोली पल्ट नै प्लाष्टर कमजोर भएको तथ्य बाहिर आएको हो ।ठेकदार पक्षले पनि सिमेन्टको मात्रा कम हालेको स्विकार गरेको छ । समान्यतया प्लाष्टर गर्दा ५ –१ को मिश्रण प्रयोग गरिन्छ तर उक्त विद्यालयको भुई प्लाष्टरमा १०–१ को मिश्रण प्रयोग गरेको ठेकदार पक्षले बताएको छ । १० बोरा बालुवामा १ बोरा सिमेन्ट प्रयोग गरिएको छ ।

विद्यालय व्यवस्थापन पक्षले थप सिमेन्ट खरिद गर्न रकम नभएको भन्दै भएको सिमेन्टले नै काम सक्न भनेकाले आफुहरुले त्यहीँ अनुसार सिमेन्ट प्रयोग गरेको कामदार निरज पटेलले बताए । विद्यालय व्यवस्थापन पक्षले भने ठेकदारको लापरबाहीले गर्दा कमसल प्लाष्टर भएको बताएको छ । प्लाष्टर हेर्दा सिमेन्ट नै नहालि बालुवा माथी सिधै पनिङ गरेको जस्तो देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहिणी उप्रेतीले बताए । कामदारहरुले रातारात भुई प्लाष्टरको काम गरेकाले कामका त्रुटि भएको तर आफुहरुले बेलैमा थाहा पाएकाले ठेकदार पक्ष भाग्न नपाएको उप्रेतीको दावी छ । २०७४ साल चैतबाट निर्माण सुरु गरिएको चार कोठे भवनको अधुरो काम पुरा गर्न खैरहनी नगरपालिका र वडा कार्यालयले ५–५ लाख गरि १० लाख बजेट विनियोजन गरेको थियो ।