निवर्तमान सभामुख महरा पुर्पक्षका लागि थुनामा

निवर्तमान सभामुख महरा पुर्पक्षका लागि थुनामा

काठमाडौँ , १८ कार्तिक।

कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंँले महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

दुईदिनसम्म चलेको थुनछेक बहसमा सरकारी वकील र महरा पक्षका वकीलको बहस सुनेपछि न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिए । पक्राउ परेको २५ दिनपछि बिहीबार महराविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

मुलुकी अपराध संहितामा १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी प्रयास उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र माग दाबी गरिएको छ । जसअनुसार साढे सात वर्षसम्म कैद दाबी गरिएको छ । उनीमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप सजाय माग गरिएको छ । अब महरा मुद्दाको फैसला नभएसम्म पुर्पक्षका लागि थुनामा रहनेछन् । महरालाई डिल्लीबजार कारागार पठाइएको छ।