जारको पानीमा सुधार आवश्यक

जारको पानीमा सुधार आवश्यक

चितवन , १८ मंसिर
चितवन र मकवानपुर जिल्लामा बिक्री वितरण हुने गरेको जारको पानीमा सुधार गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । बोत्तलको पानीमा धेरै समस्या नरहेको तर जारको पानीमा समस्या रहेको भन्दै त्यसतर्फ व्यवसायी सचेत हुनुपर्नेमा जोड दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा रत्ननगरमा भएको पानी उद्यम व्यवसाय बारे उपभाक्ता सचेतना कार्यक्रममा जारमा पानीमा सुधार गर्नुपर्ने आवाज उठेको हो । चितवन र मकवानपुर जिल्लाका अधिकाम्स जारको पानीमा क्लोरोफर्मको समस्या रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालले बताए ।

बोत्तलको पानीमा खासै समस्या नरहेको तर जारको पानीमा समस्या यथावत रहेको रिजालले बताए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमल कुमार दहाल र नेपाल बोटल वाटर उद्योग संघका केन्द्रिय अध्यक्ष सोम प्रसाद काप्रीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै विभागकी महानिर्देशक मनिता वैद्य जोशीले विभागले बोत्तलमा लागु गरेको स्वचालित प्रणाली जारमा पनि लागु गर्ने तयारी गरेको बताइन् ।