बालुवा माथी प्लाष्टर काण्ड , काम रोक्न मेयरको निर्देशन

बालुवा माथी प्लाष्टर काण्ड , काम रोक्न मेयरको निर्देशन

बिकास पौडेल
चितवन , १९ साउन
पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर २ स्थित जनजीवन माध्यमिक विद्यालयको चार कोठाको भवन निर्माणमा लापरबाहीको खबर बाहिर आएपछि मेयरले अनुगमन गरेका छन् । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले विद्यालयमा गएर स्थलगत अनुगमन गरि तत्काल काम रोक्न निर्देशन दिएका छन् ।

स्थलगत निरिक्षणमा बालुवामा सिमेन्ट नै नहाली प्लाष्टर गरिएकोे देखिएको भन्दै काम तत्काल रोक्न निर्देशन दिएका हुन् । मेयर चौधरीले प्लाष्टर भएका कोठामा आफैले खनेर हेर्दा अन्य कोठाको प्लाष्टरमा समेत सिमेन्टको मात्रा कम देखिएको बताए । प्लाष्टरको काम देखेपछि निकै आक्रमक बनेका मेयर चौधरीले विद्यालय व्यवस्थापन समितीलाई तत्काल स्पष्टिकरणको पत्र लेख्न निर्दैशन दिएका छन् ।

नगरपालिकाले गुणस्तरहिन काम गर्न बजेट दिएको होइन भन्दै मेयर चौधरीले लापरबाही गर्नेहरुलाई कारबाही गर्ने बताए । २०७४ चैतबाट सुरु गरिएको चार कोठाको भवन निर्माणमा रकम अपुग भएको भन्दै अधुरो भवन निर्माणको लागि खैरहनी नगरपालिका र वडा कार्यालयले ५ –५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

समावेशी खबरले भवन निर्माणमा लापरबाही गरेको समाचार प्रकाशन गरेपछि मेयर चौधरी निरिक्षणमा गएका थिए । यसअघि प्रकाशित समाचार तलको लिकंमा छ ।

https://www.samabesikhabar.com/2019/08/409/