कार दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

कार दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

अर्घाखाँची, २० कात्तिक  ।

सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीनजनाको मृत्यु भएको छ । गोरुसिंगे–सन्धिखर्क सडकखन्डको नरपानीमा बुधबार बिहान बा१७च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।दुर्घटनामा परि दुईजना घाइते भएका छन् ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउदै गरेको कार दुर्घटना भएको थियो । मृत्यु हुने र घाइते हुने सबै एकै परिवारका रहेका छन् । घटनामा रुपन्देहीको सैनामैना नगरपालिका–२, मुर्गियाकी ८० वर्षीया दुर्गादेवी खड्का, उनका छोरा ४३ वर्षीय भक्तबहादुर र अर्का छोरा ३९ वर्षीय तिलबहादुरको घटनास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा चालक ४९ वर्षीय गंगाबहादुर खड्का र निजका जेठो दाजुका छोरा २५ वर्षीय विनोद रहेका छन् ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।कार सडकबाट करिब १५० मिटर तल खसेको छ ।ओरालो बाटोमा तीव्रगतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।