चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवन , २० कार्तिक । 

चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर १४ गते हुनलागेको उप निर्वाचनको लागि भरतपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र खैरहनीमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको बुधवार एक कार्यक्रमकाबीच नागरीक समाज चितवनका संयोजक केदार मल्लले उद्घाटन गरे । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी,राजनितिक दलका प्रमुखहरु,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा कार्यालय उद्घाटन गरिएको थियो । सोही अवसरमा उपनिर्वाचनका लागि निर्वाचन तालिका समेत सार्वजनिक गरिएको छ । जिल्ला अदालत परिसरमा रहेको भवनमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय राखिएको हो । चितवन जिल्ला अदालतका मुख्य न्यायधिस हेमन्त रावललाई उपनिर्वाचनको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।

भरतपुरको वडा नम्वर १६ मा वडा अध्यक्ष पदको लागि उपनिर्वाचन हुदैछ भने खैरहनीको वडा नम्वर ४ र ५ मा उपनिर्वाचन हुदैछ । भरतपुर १६ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमै उम्मेदवारी दर्ता गरिने छ । खैरहनीको लागि खैरहनी नगरपालिका वडा नम्बर ६ मा रहेको पशु सेवा शाखा रहेको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिनेछ । खैरहनीको निर्वाचन अधिकृतको रुपमा विद्याराज पौडेललाई तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत रावलका अनुसार कार्तिक २७ गते मनोनयन दर्ता भएको उम्मेदवारको सुची प्रकासन गर्ने,२८ गते उम्मेदवारको विरोधमा उजुरी दिने,२९ गते मनोनयन पत्र र उजुरी जाँचवुझ गर्ने र मनोनयन भएको उम्मेदवारको नामावली प्रकासन गर्ने कार्यतालिका छ । त्यस्तै कार्तिक ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकासन गर्ने,मंसिर १ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र १४ गते मतदान गर्ने कार्यतालिका रहेको रावलले वताए । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले आचारसंहितालाई पालना गर्न र गराउन उम्मेदवार र सम्वन्धीत दलहरुलाई आग्रह गरेका छन् ।