युनिक वचतको दुईवटा सेवा केन्द्र विस्तार

चितवन , २० मंसिर ।
पूर्वीचितवनको रत्ननगरमा रहेको युनिक वचत तथा ऋण सहकारी संस्थाले शुक्रवार दुई बटा सेवा केन्द्र विस्तार गरेको छ । सहकारीको खैरहनी नगरपालिका ८ पर्सा र कालिका नगरपालिका ६ खोलेसिमलमा एकै दिन एकै समयमा सेवा केन्द्र उद्घाटन गरिएको हो ।

रत्ननगर नगरपालिका २ मा मुख्य कार्यालय रहेको सो सहकारीको थप दुई शाखा विस्तारसंगै सेवा केन्द्रको संख्या ५ पुगेको छ । यसअघि जिल्लाको नारायणगढ,जयमंगला र पदमपुरबाट सेवा प्रवाह गर्दै आईरहेको थियो । खोलेसिमल वजारमा सहकारीका संचालक प्रेमकृष्ण खनालको अध्यक्षतामा कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले सेवा केन्द्रको उद्घाटन गरेका थिए भने पर्सामा सहकारीका संचालक सुरेन्द्रनाथ रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी ८ का वडाध्यक्ष टेकवहादुर थापा क्षेत्रीले सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।

युनिक सहकारीले चालु आर्थिक वर्षमा १ अर्व २५ करोड आर्थिक कारोवार गर्ने लक्ष्य लिएकोमा हाल सम्म १ अर्व १३ करोड रुपैया बराबरको कारोवार गरिसकेको सहकारीका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले वताए । संस्थाले प्रदेश नं. ३ को भूमी ब्यबस्था तथा कृषि सहकारी मन्त्रालयबाट स्वीकृत लिएर अगाडी वढेको भन्दै निकट भविष्यमा रत्ननगर १६ पिठुवा र रत्ननगरको सौराहामा समेत सेवा केन्द्र विस्तार गर्ने योजना वनाएको छ ।