सौराहालाई फापेन यस पटकको दशै,पर्यटकको मन्दी,व्यवसायीमा चिन्ता

सौराहालाई फापेन यस पटकको दशै,पर्यटकको मन्दी,व्यवसायीमा चिन्ता

२० असोज । गत वर्षको तुलनामा यस वर्षको दशैमा सौराहामा पर्यटकको चहलपहल निकै कम छ । गत वर्ष पर्यटकको चापले हौसिएका यहाँका व्यवसायी यस पटक भने चिन्तामा छन् । तर आत्तिनु पर्ने अवस्था नभएको उनीहरुको दावी छ । वन र वन्यजन्तुकै कारण सौराहा विश्वमाझ चिनिएको छ । वन र वन्यजन्तुनै सौराहाको प्रमुख विषेशता हो । नेपालीहरुको महान चार्ड विजया दशमीको विदा छ अहिले । यही मौका छोपी कतिपय स्वदेशी पर्यटकहरु सौराहा आएका छन् । विदेशी पर्यटकका लागि पनि सिजन सुरु भईसकेको छ । दशैको वेला सौराहामा गत वर्षको तुलनामा अहिले पर्यटकको संख्या न्युन रहेको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराई वताउँछन् । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत पनि पर्यटक यहाँ आएका छैनन् । तर राप्ती ड्याम साईडका रेस्टुरेन्टमा भने पर्यटक देख्न सकिन्छ । चितवनमा फैलिएको डेंगोको सक्रमणका कारण पनि पर्यटक यहाँ आउन नरुचाएको हुन सक्ने उनको ठम्याई छ । होटल व्यवसायीहरुले पर्यटकको संख्या ज्यादै न्युन रहेको वताए पनि राप्ती ड्याम साईडमा रहेको राप्ती रेस्टुरेन्ट एण्ड बार रुफटपका संचालक पुरुषोतम लामिछाने भने सन्तोषजनक रुपमा पर्यटकहरु आईरहेको वताउँछन् । रेवान सौराहाका सदस्य समेत रहेका राप्ती रेस्टुरेन्टका संचालक लामिछानेले आफ्नो रेस्टुरेन्ट खाली नभएको वताए । लामिछानेले ड्याम साईड तिर पर्यटक प्रशस्त आईरहेको दावी गर्दा सौराहाको हात्ती चोकमा रहेको अलफ्रेस्को रेस्टुरेन्टका संचालक समेत रहेका रेवानका निवर्तमान अध्यक्ष गोकर्ण गिरी यो दशैमा निरास वन्नु परेको वताउँछन् । अघिल्ला वर्षहरुमा भ्याई नभ्याई हुन्थ्यो गिरीले भने –अहिले पर्यटक कतिवेला आउँछन् भनेर कुरेर वस्नु परेको छ । सौराहाका साना ठुला गरि अहिले १२० वटा होटल तथा ५६ भन्दा वढि रेस्टुरेन्टहरु रहेका छन् । वन र वन्यजन्तुको अलावा सौराहामा थारु समुदायको संंस्कृति महत्वपूर्ण विषेशता हो ।