चितवनको माडीमा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला हुने

चितवन , २१ कार्तिक।
चितवनको माडीमा राष्ट्रिय स्तरको प्रस्तर मूर्ति कार्यशाला हुने भएको छ । भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै माडी र सोमेश्वर गढीलाई देश तथा विदेशमा चिनाउन ‘सुन्दरकलाको ऐतिहासिक सोमेश्वर गढी , इको ,कृषि र पर्यटनको गन्तव्य नगरी’ भन्ने नाराको साथ माडी राष्ट्रिय प्रस्तर मूर्तिकला कार्यशाला २०७६ आयोजना गर्न लागिएको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाको आयोजनामा हुने मूर्ति कार्यशाला १८ दिनसम्म चल्नेछ । नेपाल सरकारले १०० पर्यटकिय गन्तव्यको सूचिमा सूचिकृत सोमेश्वर गढीमा कार्तिक २३ गतेदेखी चल्ने कार्यशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त मूर्तिकारहरुले प्रस्तर मूर्तिनिर्माण गर्ने आयोजकले जनाएका छन् । मूर्ति कार्यशालाले सोमेश्वर गढीलाई खुल्ला मूर्ति संग्रहालयको रुपमा परिचित गराउने विश्वास लिएको माडी नगरपालिकाकी उप प्रमुख ताराकुमारी काजी महतोले बताइन् ।

उक्त कार्यशालामा सोमेश्वर गढीमा उपलब्ध प्रस्तर (ढुङ्गा) बाट धार्मिक , साँस्कृतिक ,समसामयिक र परम्परागत गरि न्यूनतम ३० वटा मूर्ति निर्माण हुने माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए । कार्यशालाको लागि माडी नगरपालिकाले २५ लाख रुपैया समेत विनियोजन गरेको छ ।