लुम्बिनीमा हुने न्यूज फेस्टिबलको तयारी तिब्र

लुम्बिनीमा हुने न्यूज फेस्टिबलको तयारी तिब्र

चितवन , २२ कार्तिक।
लुम्बिनीमा हुन लागेको न्यूज फेस्टिबलको तयारी तिब्र पारिएको छ । नेपालमै पहिलो पटक हुन लागेको तिन दिने न्यूज फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजक लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले जानकारी दिए ।

मंसिर १ गतेदेखी ३ गतेसम्म हुने फेस्टिबललाई प्रभावकारी बनाउन फेस्टिबलको आयोजक लुम्बिनी प्रेस क्लब विभिन्न जिल्लाका पत्रकारहरुसँग अन्तरक्रियामा जुटेको छ । आयोजक क्लबले आज चितवनका पत्रकारहरुलाई फेस्टिबलको बारेमा जानकारी दिनुका फेस्टिबललाई सफल बनाउन छलफल समेत गरेको छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाको सभाहलमा आयोजित छलफलमा शाखाका अध्यक्ष राधेश्याम खतिवडा लगायत चितवनका अन्य पत्रकारहरुले न्यूज फेस्टिबलमा ग्रामिण क्षेत्रका पत्रकारहरुलाई समेत सहभागी गराएर त्यस क्षेत्रमा रिपोटिङ्ग गर्दाको अनुभव र समस्याहरु , पत्रकारिता क्षेत्र , संचार क्षेत्रमा भएका परिवर्तन , पहिला पहिला प्रयोग हुने गरेको उपकरणको प्रर्दशनी , मोफसलमा प्रभाव पारेका समाचारहरुको प्रदर्शनी एवम् त्यसको अभिलेखिकरण गर्नुपर्ने लगायतको सुझाव दिएका थिए । फेस्टिबलमा नेपालमा क्रियाशिल , अग्रज पत्रकारहरु सहित देशभरबाट करिब तिन सयजना पत्रकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।