नारायणी महोत्सवमा एकैदिन १५ हजार दर्शक , गायक मिलन लामाले नचाए दर्शक

नारायणी महोत्सवमा एकैदिन १५ हजार दर्शक , गायक मिलन लामाले नचाए दर्शक

चितवन , २२ कार्तिक ।
नारायणगढको नदी किनारमा सञ्चालित ‘नारायणी महोत्सव २०७६’ को आज (शुक्रबार) सबैभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को  आठौँ दिन शुक्रबार १५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका  प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए ।

शुक्रबार हरिबोधनी एकादशी समेत परेकाले तीर्थयात्राका लागि नदी किनारमा आएका भक्तालुहरु महोत्सव अवलोकन गर्दा हालसम्मकै सबैभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका राजकर्णिकारले बताए । शनिबार पनि बिदाको दिन भएका कारण दर्शकहरुको उपस्थिति राम्रै रहने आयोजकको अपेक्षा रहेको छ ।

शुक्रबार चितवनका लोकप्रिय गायक मिलन लामाले आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए । आफ्ना चर्चित गीतहरु माझी दाइ पोखरा फेवा तालको, बेसारेको मन छैन मुख मात्रै, छम्म छम्म नाचिदेउ जस्ता गीतहरु गायर लामाले दर्शकलाई नचाउन सफल भएका थिए । शनिबारको सांस्कृतिक कार्यक्रममा चर्चित गायक शिव परियार, बाल गायिका कमला घिमिरेले सांगीतिक प्रस्तुति राख्ने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए । त्यस्तै, शनिबार नै धुर्मुस र सुन्तलीको समेत विशेष प्रस्तुति रहेको अधिकारीको भनाइ छ ।

तीन सय व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुती भइरहेको अधिकारीले बताए । कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको शिक्षा दीक्षा तथा औषधिउपचारमा खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ । महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग चढ्ने व्यवस्था समेत मिलाइएको छ ।