व्यवसायिक किसानलाई प्लाष्टिक मन्चिङ

व्यवसायिक किसानलाई प्लाष्टिक मन्चिङ

चितवन , २२ कार्तिक ।
चितवनको कालिका नगरपालिकाका व्यवसायिक तरकारी किसानहरुलाई प्लाष्टिक मन्चिङ वितरण गरिएको छ । तरकारीको उत्पादन बढाउन सो नगरपालिकाले अनुदानका आधारित प्लाष्टिक मन्चिङ वितरण गरेको हो ।

दुई कठ्ठा देखि एक विगहा क्षेत्रफलमा तरकारी खेति गर्दै आएका ४७ जना किसानलाई सय रोल प्लाष्टिक मन्चिङ वितरण गरिएको कृषि शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए । तरकारीको पकेट क्षेत्र,व्यवसायिक तरकारी खेति र जग्गाको क्षेत्रफलको आधारमा सो सामाग्री वितरण गरिएको हो । नगरपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत लगानीमा प्लाष्टिक मन्चिङ वितरण गरिएको पौडेलले बताए । वडा नं १ को कार्यालयमा आयोजित कार्यक्रममा मेयर खुमनारायण श्रेष्ठले किसानहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । सो अबसरमा उनले कृषिको माध्यमबाट कालिकाका किसानहरुको जीवन स्तर उकासिने बताए ।

नगरलाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने योजना रहेको भन्दै उनले व्यवसायिक रुपमा तरकारी खेति गर्ने किसानहरुलाई नगरपालिकाले सहयोग गर्ने बताए । विचौलियाका कारण किसानहरुले उत्पादित बस्तुको मुल्य नपाएको भन्दै मेयर श्रेष्ठले विचौलियाको अन्त्य गर्न नगरपालिकाले सहकारी मार्फत नगरका दुई ठाउँमा तरकारी संकलन केन्द्र सञ्चालन गरेको बताए । कार्यक्रममा वडाध्यक्षहरु लीलाबहादुर गुरुङ,टिकाराज रिजाल,डिल्लीराम दुवाडी लगायतले मन्तव्य राखेका थिए ।