एक युवकको हत्या गरेको आरोपमा चितवनमा ५ जना पक्राउ

एक युवकको हत्या गरेको आरोपमा चितवनमा ५ जना पक्राउ

चितवन , मंसिर २२। 
चितवनमा एक युवाको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । भरतपुर २७ निवासी २६ बर्षिय अभिनाष महतोको हत्या गरेको आरोपमा प्रहरीले सोहिस्थानका पाँचजनालाई पक्राउ गरेको हो ।

हत्या आरोपमा भरतपुर २७ निवासी बर्ष २५ को विनोद कुमार महतो, बर्ष ३६ को दिपेन्द्र महतो , बर्ष २७ को यमकुमार महतो र बर्ष २० को बिजय महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए । पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो । उनीहरुसँगै एक किशोरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनको नाम ठेगाना गोप्य राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी निरिक्षक विरेन्द्र गुरुङको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । मंसिर १२ गतेबाट हराइरहेका अभिनाषको शव मंसिर १५ गते गाडेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए । हत्याको एकिन कारण नखुलेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।