खैरहनीका ३ कर्मचारीलाई सम्मान

खैरहनीका ३ कर्मचारीलाई सम्मान

चितवन , २२ भदौ

कर्मचारी सेवा दिवसको अवसरमा आईतवार खैरहनी नगरपालिकाले तीन जना कर्मचारीहरुलाई सम्मान गरेको छ । दिवसको अवसर पारेर अधिकृत तह,सहायक र कार्यालय सहयोगीहरु तीन जनालाई एक कार्यक्रमका बीच उत्कृष्ठ कर्मचारीको रुपमा सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा स्वास्थ्य शाखा प्रमुख माया पाण्डे,खैरहनी ५ का वडा सचिव धिरेन्द्र चौधरी र खैरहनी १२ वडाका कार्यालय सहयोगी टेकवहादुर भण्डारीलाई सम्मान गरिएको थियो । उनीहरुलाई खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी,उपमेयर सुनिता थपलियाले दोसल्ला ओढाई प्रसंसा पत्रले सम्मानित गरेका थिए । नगरपालिका वा वडा कार्यालयमा कम्तीमा २ वर्ष देखी कार्यरत रहेको,काममा लगनशीलता,कार्यालयमा उपस्थिती,सम्वन्धीत कर्मचारी प्रतिको सेवाग्राहीको गुनासो,उजुरी,कर्मचारी आचार संहिताको पालना,सम्वन्धीत कर्मचारीको नाममा वेरुजु भए नभएको वुँदाहरुलाई आधार मानेर कर्मचारीहरुलाई सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । उत्कृष्ठ कर्मचारी छनौटका लागि उपमेयर सुनिता थपलियाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

कर्मचारी सम्मान कार्यक्रममा वोल्दै खैरहनीका मेयर लालमणी चौधरीले कर्मचारी समान रहने भन्दै निजामति शव्द हटाएर कर्मचारी सेवा दिवस मनाउन सुरु गरिएको वताए । नगरमा काम गर्ने सवै कर्मचारीलाई नगरपालिकाले समान व्यवहार गर्ने भन्दै करार सेवामा कार्यरत कर्मचारीहरुले हिनतावोध गर्न नहुने औल्याए । मेयर चौधरीले कर्मचारीकै कारण नगर समृद्धको आधार तय हुने भएकाले सेवाग्राहीलाई सरल,सहज रुपमा सेवा दिन, काम प्रति इमानदारीता देखाउन ,निस्वार्थ भावले काम गर्न आग्रह गरे । कर्मचारी छनौट समिति संयोजक समेत रहेकी खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनी,खैरहनी ६ का वडाध्यक्ष रामशरण पाण्डे, नगरपालिकाका लेखा अधिृकत केशव हुमागांई,स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्मा लगायतले मन्तव्य राखेका थिए ।