वन संरक्षण र उपभोक्ता लक्षित काम सँगसँगै गर्दै चित्रसेन वन

वन संरक्षण र उपभोक्ता लक्षित काम सँगसँगै गर्दै चित्रसेन वन

चितवन , २३ मंसिर ।
चितवनको चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षण र उपभोक्ता लक्षित कामसँगसँगै अगाडी बढाउदै आएको छ । उपभोक्त र समुदायको हितमा काम गरेमात्रै वन र वन्यजन्तु संरक्षण प्रभावकारी हुने भन्दै वनले आफ्नो आम्दानीबाट वन व्यवस्थापनसँगै उपभोक्ता र समुदाय लक्षित कार्यक्रम गर्दै आएको हो ।

वनको मुख्य आम्दानीको श्रोत डुंगा संचालन र हात्ती प्रवेशबाट संकलन भएको रकमले प्रत्यक्ष उपभोक्ता र समुदयको हितमा लगानी गर्दै आएको वनका अध्यक्ष पुष्पराज श्रेष्ठले बताए । वनले आफ्नो आम्दानीबाट सुत्केरी पोषण अनुदान,जेष्ठ नागरीक सम्मान,एकल महिला सम्मान,स्वास्थ्य बीमा,सुधारिएको चुलो,सोलार जडानमा अनुदान,किरियाका लागि लाग्ने दाउराको खर्च,बिवाहका लागि दाउरा,भ्याक्सिनेसन,बालीनाली क्षतीपूर्ती आदिमा खर्च गर्ने गरेको छ । त्यस्तै सिंचाई,कालोपत्रे निर्माणका लागि अनुदान,शैक्षिक गुणस्तर वृद्धीका लागि सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई अनुदान,टोल विकासको लागि समेत छुट्टै अनुदानको व्यवस्था गर्दै आएको अध्यक्ष श्रेष्ठले वताए । वनले आर्थिक २०७५/७६ मा उपभोक्ता राहत स्वरुप २० लाख ७९ हजार,सामुदायिक विकास तर्फ २८ लाख १६ हजार,संरक्षण शिक्षा विकास तथा स्वास्थ्यमा १५ लाख ४ हजार,टोल विकासका लागि ७९ लाख १७ हजार रुपैया लगानी गरेको छ । गत आर्थिक वर्षमा डुंगा संचालनबाट १ करोड ३० लाख,हात्ती प्रवेशबाट ७१ लाख २५ हजार,काठ विक्रीबाट १२ लाख ३४ हजार रुपैया आम्दानी गरेको वनका कार्यालय सचिव कृष्ण आचार्यले जानकारी दिए ।

वनको सोमवार आयोजित १८ औं वार्षिक साधारण सभामा वनले गरेका क्रियाकलापहरु, आम्दानी, खर्चको विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा संरक्षणकर्मीहरु बासुदेव ढुंगाना,अशोक दराई,विनोद वस्नेत,अशोक चौधरी,शिव प्रसाद आचार्य,बलराम चौधरी,सन्तराम गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी पुर्व अर्थमन्त्री तथा प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डले दोसल्ला ओढाई प्रसंसा पत्रले सम्मान गरेका थिए । वनका अध्यक्ष पुष्पराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाट , मृगकुञ्ज मध्यवर्ती उपभोत्ता समितीका निवर्तमान अध्यक्ष वासुदेव ढुगांना , बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तमाङ , कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश प्रसाद श्रेष्ठ , क्षेत्रिय होटल संघ नेपाल , चितवनका अध्यक्ष दिपक भट्टराई , वनका उपाध्यक्ष वलराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।