समायोजन,दरबन्दी मिलान र पाठ्यक्रम निर्माण प्राथमिकता

समायोजन,दरबन्दी मिलान र पाठ्यक्रम निर्माण प्राथमिकता

मंसिर २५ गते । चितवनको शैक्षिक गुणस्तर सुधारका लागि जारी गरिएको सौराहा घोषणापत्रमा बुधवार दुई वटा बुँदा थप गरिएको छ । कालिका नगरपालिकाले आयोजना गरेको माध्यमिक तह सम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अन्र्तक्रिया चितवनका सामुदायिक विद्यालयलाई अब्बल बनाउन घोषणा पत्रमा दुई बुँदा थप गरिएको कालिकाका मेयर खुमनारायण श्रेष्ठले बताए । दुई बुँदामा विद्यालय समायोजन,शिक्षक दरबन्दी मिलान र स्थानीय स्तरमा पाठ्यक्रम निर्माणलाई प्राथमिकता दिइएको रत्ननगरका मेयर नारायण वनले बताए । चितवनका स्थानीय तहहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गत साउनमा १९ बुँदे सौराहा घोषणापत्र जारी गरी कार्यान्वयनको लागि कार्यदल समेत बनाएका थिए । कार्यक्रममा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका उपमहानिर्देशक विष्णु प्रसाद अधिकारी र शिक्षाविद् रमाकान्त सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख सिताराम कोइराला,रत्ननगर नगरपालिकाका शिक्षा शाखा प्रमुख बद्रिनारायण शर्मा,कालिका नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद वाग्ले,खैरहनी नगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्र प्रसाद पौडेल,राप्तीकी सामाजिक विकास समितिकी संयोजक पुष्पा कुँवर लगायतले शैक्षिक गुणस्तर सुधारको गरिएका कामहरुको वारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेस सभा सांसद घनश्याम दाहाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्ननगरकी उपमेयर विमला दुवाडी,सात वटै स्थानीय तहका सामाजिक विकास समितिका संयोजक,शिक्षा शाखा प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।