कपिलबस्तु र दाङमा गाँउपालिकाको गाडीमा आगजनी

कपिलबस्तु र दाङमा गाँउपालिकाको गाडीमा आगजनी

काठमाण्डौँ , २६ साउन

कपिलबस्तु र दाङमा दुईवटा गाडीमा आगजनी भएको छ । अज्ञात समुहले कपिलवस्तुको मायादेवी गाउँपालिका र दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी गरेको हो ।

कपिलबस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गरेको लु १ झ ४०० नम्बरको गाडीमा गएराति आगजनी भएको थियो । शनिबार राति कपिलबस्तुको सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०.५० बजेतिर आगजनी भएको हो । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।

त्यस्तै दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्वरको गाडीमा समेत आगजनी भएको छ । अज्ञात समूहले आगजनी गर्दा गाडी पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी भएको थियो । आगजनी कसले गरेको भन्ने एकिन नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । राज्यद्धारा प्रतिवन्धित पार्टी विप्लव नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।