
चितवन ,२६ कार्तिक ।
धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि डेजी स्कुलले रकम सहयोग गरेको छ । पूर्वीचितवनको खैरहनीमा रहेको डेजी इङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थी ,शिक्षक र स्कुलको तर्फबाट २ लाख ६५ हजार ९ सय ६० रुपैयाँ सहयोग भएको हो । ।
मंगलबार बोर्डिङका विद्यार्थी , शिक्षकहरु रंगशाला निर्माण स्थलमा नै पुगेर फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई रकम हस्तान्तरण गरेका थिए । सहयोग रकम हस्तान्तरण क्रममा स्कुलका प्रधानाध्यापक प्रेमराज रिमालले असल कामको लागि सानो भएपनि सहयोग गर्नुपर्ने भन्दै स साना विद्यार्थीहरुले देशको गौरबको रुपमा रहेको रगंशाला निर्माणका लागि सहयोग गर्ने तत्परता देखाएकोमा सबै विद्यार्थीलाई धन्यवाद दिए । विभिन्न जिल्लाबाट चितवन भ्रमणमा आउने विद्यालय , संघ संस्थाको टोलीले एकपटक गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण स्थलमा आएर अवलोकन गर्न समेत अनुरोध गरे ।
रकम बुझ्दै कट्टेलले जनस्तरको सहयोगबाट निर्माण गर्न लागेको रंगशालामा सबैले सहयोग गर्नुपर्ने बताए । सबैको साथ र सहयोग पाए तोकिएकै समयमा रंगशाला निर्माण सम्पन्न गर्ने उनले पतिबद्धता व्यक्त गरे । रङ्गशाला निर्माण स्थलमै विद्यार्थीहरूलाई समेत उपस्थित गराई सहयोग रकम हस्तान्तरण गर्ने पहिलो विद्यालय डेजी स्कुल भएकोले स्कुलका विद्यार्थी, शिक्षक , कर्मचारी र सम्पूर्ण विद्यालय परिवारलाई धन्यवाद दिदै अन्य विद्यालयबाट समेत सहयोग आउने अपेक्षा व्यक्त गरे ।
करिब ६ सय विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रममा फाउण्डेसनका तर्फबाट सीताराम कट्टेलले निर्माणाधीन रङ्गशालाका विभिन्न पक्षहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए । सो अवसरमा विद्यार्थीहरुको मनोरञ्जनको लागि कट्टेलले धुर्मुस , खड्का जी , मुस्कान पासाको अभिनय समेत गरेका थिए । कार्यक्रममा सहभागी कक्षा दशकी छात्रा एञ्जिला सेढाईले राष्ट्रको गौरब यति ठूलो रङ्गशाला निर्माणको अभियानमा जोडिन पाएकोमा खुशी लागेको बताइन् । त्यस्तै कक्षा आठका छात्र दौलत वर्ताैलाले अन्तर्राष्ट्रिय स्तरको रङ्गशालामा खेल खेल्न र हेर्न पाउने दिन धेरै टाढा नभएको महशुस गरेको प्रतिक्रिया दिए ।