चितवनमा पहिलोपटक मनाइयो विश्व हात्ती दिवस , हात्तीहरुलाई वनभोज
बिकाश पौडेल
चितवन , २७ साउन
विश्व हात्ती दिवसको अवसरमा चितवनमा हात्तीहरुलाई वनभोज खुवाइएको छ । नेपालमै पहिलो पटक विश्व हात्ती दिवस मनाइएको हो । वर्षभरी हात्ती सफारीका लागि प्रयोग गरिने हात्तीलाई आज नेपालकै तेस्रो पर्यटकीय क्षेत्र सौराहामा वनभोज खुवाइएको हो ।
सौराहाको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनले संयुक्त रुपमा वनभोज आयोजना गरेका हुन् । कार्यक्रममा बोल्नेहरुले हात्ती संरक्षणमा विशेष ध्यान दिनुपर्ने औँल्याएका थिए । अन्तर्राष्ट्रिय क्षेत्रमा हात्तीहरुलाई यातना दिने गरेको भन्दै विरोध उठिरहेको बेला सौराहा सरोकारवालाहरुले हात्तीलाइै राम्रोसँग हेरविचार गरिरहेको भन्दैे यातना नदिएको बताए ।
हात्तीबिना सौराहाको अस्तित्व नभएको भन्दै हात्ती संरक्षणमा आफुहरु लागिरहेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषि तिवारीले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले हात्तीको संरक्षण गर्दै पर्यटन व्यवसायमा प्रयोग भइरहेको हात्तीको बारेमा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश गइरहेको भन्दै हात्तीमैत्री व्यवहार गर्न आग्रह गरे । हात्तीको उचित स्याहार, व्यवस्थापन र हात्ती मैत्री व्यवहार गर्दै हात्तीको प्रयोग गर्दा कसैले नकारात्मक रुपमा लिन नहुने मेयर वनले बताए । नेपालमा हात्तीको धार्मिक महत्व समेत रहेको भन्दै हात्तीको उचित व्यवस्थापन गर्दै हात्तीको प्रयोग सम्बन्धि सकारात्मक सन्देश विश्वभर लैजानुपर्नेमा मेयर वनले जोड दिए ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाट, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रामकुमार अर्याल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डा. बाबुराम लामिछाने, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जित बहादुर तमाङ लगायतले बोलेका थिए ।