नारायणगढ मुग्लिङ सडक खण्ड आजबाट दिउँसो बन्द
चितवन, २७ मंसिर।
नारायणगढ–मुग्लिन सडक खण्ड आजबाट दिउँसोमा बन्द हुने भएको छ । पहिरो रोकथामको काम गर्न दुईसाताको लागि सडकखण्ड दैनिक चार घन्टा बन्द गर्न लागिएको हो ।
नारायणगढ मुग्लिङ सडक खण्ड बिस्तारपश्चात् विभिन्न स्थानमा पहिरो उच्च जोखिम रहेको थियो । पहिरोको उच्च जोखिम रहेको आठ स्थानमा पहिरो रोकथामको लागि रक नेटिङ , रक बोल्टिङ र बायो इन्जिनियरिङको काम हुने नारायणगढ मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । आजबाट दुईसाताको लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन संचालनमा रोक लगाइएको खनालले बताए ।
नारायणगढबाट मुग्लिङतर्फ जाने यात्रुबाहक सवारीसाधनहरुलाई पध्र किलोमा र मालबाहक सवारीसाधनलाई दासढुङामा रोकिने छ । त्यस्तै काठमाडौबाट नारायणगढ तर्फ आउने यात्रुबाहक सवारीसाधनलाई मुग्लिङमा र मालबाहक सवारीसाधनलाई लेवाटारमा रोकिने जनाइएको छ । त्यस्तै पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनिटार र मालबाहक सवारीसाधनलाई आबुखैरहनीमा रोकिने प्रहरीले जनाएको छ ।