चाडपर्वमा सुरक्षाको लागि चितवनको ६४ स्थानमा ७ सय बढी प्रहरी खटिने

चाडपर्वमा सुरक्षाको लागि चितवनको ६४ स्थानमा ७ सय बढी प्रहरी खटिने

चितवन , भदौ २७

चितवनमा नेपालीहरुको महान चाडपर्वको बेला सुरक्षाव्यवस्था मजबुत बनाउन प्रहरी जुटेको छ । चितवन प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना नै बनाएर काम गर्न लागेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

प्रहरीले क्लीन चितवन अप्रेशन नाम दिएर हिन्दुहरुको महान चाडपर्वहरु दशै,तिहार,छठ लगायतलाई मध्यनजर गर्दै ७ सय १५ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर मल्लले जानकारी दिए ।
चाडपर्वलाई लक्षित गर्दै यात्रुहरुको बढी चाँप हुने भरतपुरको केन्द्रित वस टर्निमल, पोखरा वसपार्क र पुल्चोकमा यात्रु सहायता कक्ष राखिने भएको छ । चाडवार्डको मौका छोपी यातायात व्यवसायीबाट यात्रु ठगिन सक्ने अवस्थालाई मध्यनजर गर्दै यातायात व्यवसायीका प्रतिनिधीसहित ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त रुपमा सहायता कक्ष स्थापना गर्न लागिएको प्रहरी उपरिक्षक मल्लले वताए । उनले वढि भाडा लिने , क्षमता भन्दा बढी यात्रु हाल्ने , लामो दुरीको सवारीसाधनमा दुईजना चालक नराख्नेहरुलाई कारबाही गरिने वताए ।

चाडपर्व शान्त र दुर्घटना रहित बनाउन बिशेष सुरक्षा योजना अनुसार ७ सय १५ प्रहरी परिचालन गर्न लागिएको छ । सुरक्षा योजना अनुसार जिल्ला भर १२ वटा मोवाईल गस्ती,१७ वटा मोटरसाईकल गस्ती,८ वटा पैदलगस्ती,२७ स्थानमा पिकेट ड्युटीमा प्रहरीलाई परिचालन गरिने प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको मुख्य राजमार्ग र भित्री सडकमा ६ वटा गाडीमा गस्ती,सादा पोशाकमा प्रहरी परिचालन गरि सम्भावित अपराध तथा अन्य घटना न्यूनिकरण गर्न प्रहरी परिचालित हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । सवारी चेकजाँच , दुर्घटना न्यूनिकरण , अवैध वस्तु भित्रन रोक्ने, लुटपाट, यात्रु ठगी गर्ने , चन्दा आतंक नियन्त्रण गर्ने,कालोवजारी नियन्त्रण गर्ने योेजना अनुसरा सुरक्षा योजना तयार पारिएको प्रवक्ता कोईरालाले बताए ।

त्यस्तै चितवनमा लागुऔषध र्दुव्यसनीको अवस्था डरलाग्दो रुपमा रहेको भन्दै यसको नियन्त्रण गर्न प्रहरीले तत्काल नै बिशेष अपरेशन संचालन गरिने भएको छ । पछिल्लो तिन महिनामा लागुऔषध सम्बन्धि २१ वटामुद्धामा ३२ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक शालकराम पौडेलले बताए ।