उपनिर्वाचनको लागि चितवनमा पनि कांग्रेसबाट सर्वसम्मत रुपमा उम्मेदवार चयन

उपनिर्वाचनको लागि चितवनमा पनि कांग्रेसबाट सर्वसम्मत रुपमा उम्मेदवार चयन

चितवन , २७ असोज ।
चितवनमा आगामी मंसिर १४ गते ३ वटा वडामा उपनिर्वाचन हुदैछ । चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४ र ५ तथा भरतपुर महानगरपालिकाको वडा नम्वर १६ मा उपनिर्वाचन हुन लागेको हो । त्यसका लागि नेपाली कांग्रेसले वडा समितिबाटै सर्वसम्मत रुपमा उम्मेवार चयन गरेको छ ।

खैरहनी वडा नम्वर ४ मा देव वहादुर वस्नेतलाई वडा अध्यक्षमा उठाउने निर्णय भएको छ । वस्नेत सो वडाका कार्यवहाक वडाध्यक्ष समेत हुन् । त्यस्तै खैरहनी ५ बाट प्रतिमा वस्नेतलाई वडाध्यक्षको उम्मेदवार वनाउने सहमती भएको छ । तत्कालिन खैरहनी ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नम्वर ५ का वडाध्यक्ष विश्व विजय वस्नेतको सवारी दुर्घटनामा विं.सं. २०७४ साल माघ ६ गते निधन भएको थियो । भरतपुरबाट सरकारी काम सकेर नगरपालिका फर्कने क्रममा रत्ननगरको शान्तिचोक नजिककै नगरपालिकाको गाडी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । खैरहनी ४ र ५ मा नेपाली कांग्रेसले जितेको थियो ।

यस्तै भरतपुर महानगरपालिका–१६ को वडा अध्यक्षका लागि पनि उम्मेद्वार तय गरेको छ । काँग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको छ । केही महिना अघि सो वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगका कारण निधन भएको थियो । स्वर्गीय गुरुङ तत्कालिन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । वडा समितिले जिल्लामा नाम सिफारीस गर्ने र जिल्ला समितिले निर्णय गर्ने नेपाली कांग्रेस श्रोतले जनाएको छ