चितवनमा पेस्तोल सहित दुईजना पक्राउ

चितवनमा पेस्तोल सहित दुईजना पक्राउ

चितवन , २८ कार्तिक । 
चितवनमा अवैध हतियार पेस्तोल सहित दुईजना पक्राउ परेका छन् । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ६ हर्दिमा आज बिहान एक थान पेस्तोल, १ थान म्यागजिन र ५ राउण्ड गोली सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ बस्ने बर्ष ३७ को मधुकर के.सी.र सल्यान जिल्ला कपुरकोट गाउँपालिका वडा नं.०५ बस्ने बर्ष ३३ को नारायण बुढाथोकीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट रात्री गस्तीमा खटिएको टोलीले उनीहरुलाई बिहान २ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पुर्वपश्चिम् राजमार्गको छेउमा बा ८५ प ८०८४ मोटरसाईकल देखी शंका लागी चेकजाँच गर्ने क्रममा उक्त मोटर साईकल देखि ५ मिटर दक्षिण तर्फ रहेको धानको परालमा लुकी बसेका उनीहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा मधुकर के.सी.को साथबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुउपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ६ अन्तर्गत हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।