राप्तीमा तीन दिनदेखी आधा दर्जन घर डुवानमा

चितवन,२९ असार 

पूर्वी चितवनको राप्ती नगरपालिका ४ लक्ष्मी नारायण चोकमा वर्षाका कारण आधा दर्जन घरहरु डुवानमा परेका छन् । लगातारको वर्षाका कारण तीन दिनदेखी त्यहाँका घर भित्रै पानी पसेको छ ।

पानी निकास गर्ने ठाउँ नहुँदा स्थानीय विष्णु प्रसाद दनै,रुपनारायण श्रेष्ठ,हुमादेवी श्रेष्ठ,हरिमाया दाहाल,टेकवहादुर श्रेष्ठ लगायतको घर डुवानमा परेको हो । निकास नहुँदा जमेको पानीका कारण शौच गर्न जान र खानेपानीको समस्या रहेको स्थानीय पीडित विष्णु प्रसाद दनैले गुनासो गरे । आफ्नो शौचालय र धारामा पानी जम्दा छिमेकीको गएर शौच गर्ने र पानी ल्याउनु परेको उनले वताए । घर भित्रै पानी पस्दा खाना पकाउन,सुत्न समेत समस्या रहेको अन्य स्थानीयको गुनासो छ । लक्ष्मी नारायण चोकमा मार्ताल पुलदेखीको पानी आउने गर्छ । भौगोलिक रुपमा लक्ष्मी नारायण चोक गहिरो हुँदा त्यहाँ सामान्य पानी पर्दा समेत डुवान पर्ने गरेको छ । खहरे खोलामा पानी निकासी हुने गरेतापनि माछा पोखरी वनाईएकाले निकास हुन नसकेको दनैको भनाई छ ।

 

पानी निकासीका लागि पीडित स्थानीयवासीहरुले आईतवार राप्ती ४ को वडा अध्यक्षलाई मौखिक जानकारी गराएता पनि कुनै पहल भएको छैन । यस समस्याका बारे वडाध्यक्ष शमसेर लामा संग वुझ्न खोज्दा उनको फोन रिसिभ भएन । लक्ष्मीनारायण चोक गहिरो स्थानमा हुँदा पानीको निकास हुन नसकेको नगरपालिकाकी मेयर प्रभा वराले वताईन् । पानी निकासीका लागि नगरपालिकाको तर्फबाट साधन पठाएपनि कुनै उपाय नलागेको मेयर वरालको दावी छ ।