जेसीज विकास रनिङ शिल्डको तयारी पूरा

जेसीज विकास रनिङ शिल्डको तयारी पूरा

चितवन, २८ असोज ।

चितवनमा सबैभन्दा धेरै पुरस्कार राशीको राष्ट्रिय नकआउट फूटबल प्रतियोगिता टुबोर्ग जेसीज विकास रनिङ शिल्डको सबै तयारी सकिएको छ ।
प्रतियोगिताको लागि मैदान, प्याराफिटलगायत सबै काम सम्पन्न भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नारायणगढ जेसीजको आयोजनामा नारायणगढको क्याम्पाचौरमा असोज ३० गतेदेखि हुने कार्तिक ९ गतेसम्म हुने प्रतियोगितामा १० वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको नारयणगढ जेसीजका अध्यक्ष विकामान श्रेष्ठले जानकारी दिए । सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चितवन ११, मकवानपुर ११, झापा ११ र नेपाल आर्मी क्लब समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, सरस्वती युवा क्लब, युनाइटेड दार्जिलिङ, जावलाखेल युथ क्लब र संकटा क्लब रहेको छ ।

खेल हेर्नको लागि अस्थायी प्यारापिलट निर्माण गरिएको र उक्त  प्याराफिटमा करिब एक हजार आठ सय दर्शक अटाउने आयोजकको दावी छ । प्रतियोगितामा विजयी हुनेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको क्वाटरफाइनलसम्म अवलोकनका लागि एक सय र दुई सय रुपैयाँको टिकट तथा सेमीफाइनल र फाइनल अवलोकनका लागि दुई सय र तीन सय रुपैयाँको टिकटको व्यवस्था गरिएको प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।