प्रथम राप्ती महोत्सव भोलीदेखी सुरु , प्रचण्डले उद्घाटन गर्ने

प्रथम राप्ती महोत्सव भोलीदेखी सुरु , प्रचण्डले उद्घाटन गर्ने

चितवन , २९ असोज। 
पूर्वीचितवनको राप्ती नगरापालिका विरेन्द्रनगरमा भोलीदेखी प्रथम राप्ती महोत्सव सुरु हुदैछ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको विहिबार नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सवमा २५० वटा स्टल रहने र करिब सबै स्टल भरिएको महोत्सवको मुल समारोह संयोजक राजकुमार कंडेलले जानकारी दिए । यसअघि बुधबारबाट सुरु हुने भनिएको महोत्सव बाल उद्यानको कारणले एकदिन ढिला गरि उद्घाटन गर्न लागिएको संयोजक कंडेलले बताए । कृषि , पर्यटन ,उद्योगलाई बिशेष प्रथामिकता दिने भन्दै आयोजना हुन लागेको महोत्सवमा कृषिको १५ वटा स्टल रहने र राप्तीको नगरभित्रको पर्यटकिय स्थलहरुको तस्बिर राखिएको सेल्फी जोन रहने महोत्सवको प्रचारप्रसार समितिका संयोजक दिनेश सेढाईले जानकारी दिए ।

राप्ती नगरभित्रको पर्यटकिय स्थलको अवलोकनको लागि महोत्सव स्थलबाट गाडीको व्यवस्था समेत गरिने आयोजकले जनाएको छ । महोत्सवमा चेपाङ समुदायका दर्शकहरुलाई विद्यार्थी सहुलियतको टिकट दरमा महोत्सव स्थलभित्र प्रवेश दिने जनाइएको छ । कार्तिक ९ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने छ । महोत्सवमा बद्री पंगेनी , पशुपती शर्मा , प्रमोद खरेल , रमेशराज भट्टराई , ज्योती मगर लगायतको कलाकार आउने प्रचारप्रसार समितिका संयोजक सेढाईले बताए ।