किसानको उत्पादनमा विचौलियाको राज
मंसिर ३० गते । नेपाल अण्डा उत्पादक संघले किसानले उत्पादन गरेको अण्डाको मुल्य विचौलियाले तोक्ने परिपाटीको अन्त्य हुनु पर्ने भन्दै संघले तोकेकै मुल्यमा विक्री गर्न आग्रह गरेको छ । साथै प्रहरीले गिरफ्तार गरेका आफ्ना ५ जना किसानहरुको रिहाई गर्नु पर्ने माग गरेको छ । सप्लायर्स समेतको उपस्थितीमा भएको वैठकले ठुलो अण्डा प्रति क्रेट फर्मबाट खरिद गर्दा २ सय ७५ र विक्री मुल्य २ सय ८० रुपैया तोकेता पनि पछि सप्लायर्सहरुले आफैले मुल्य घटाएर निर्धारण गरेको भन्दै नेपाल अण्डा उत्पादक संघले विरोध जनाएको हो । सोमवार भरतपुरमा आयोजित पत्रकारमा किसानले उत्पादन गरेको अण्डाको मुल्य विचौलियाले तोक्ने परिपाटीको अन्त्य हुनु पर्ने भन्दै संघका केन्द्रिय अध्यक्ष शिवराम केसीले संघले तोकेकै मुल्यमा विक्री गर्न आग्रह गरे । कार्तिक २१ गते त्रिपक्षिय वैठकमा ठुलो अण्डाको मुल्य फर्मबाट खरिद गर्दा प्रति क्रेट २७५ र विक्री मुल्य २८० रुपैया कायम गरिएको थियो । त्यस्तै मध्यय २५५ खरिद मुल्य र २६० विक्री मुल्य तोकिएको थियो । संघका अध्यक्ष केसीका अनुसार सप्लायर्सले एक पेटीमा ५ सय रुपैया सम्म नाफा खाएर वेच्ने गरेका छन् । मंसिर १५ गतेपछि भने सप्लायर्स आफैले ठुलो अण्डा प्रति त्रेट २७० रुपैयामा खरिद गर्न थालेपछि विवाद सुरु भएको छ । सोही विवादका विषयमा २६ गते वैठक आह्वान गरिएपनि सो वैठकमा सप्लायर्सबाट उपस्थित भएनन् । तर उनीहरु आफैले मंसिर २७ गते वैठक वस्ने भनेर किसानहरुलाई वोलाएका थिए । सोही वैठकमा अगुवा कृषकहरु गई निर्धारित मुल्य आम किसानको हित विपरित भएको निक्यौल गरि सोघपुछ गर्दा भनाभन भएको सन्र्दभमा अभद्र व्यवहार भएको भनि ६ जना किसानहरु विरुद्ध किटानी जाहेरी दिए । प्रहरीले किटानी जाहेरीमा उल्लेख भएका मध्ये ५ जना किसानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा किसानहरु प्रकाश अधिकारी,आनन्द मास्के,रामहरी केसी,दिपेश्वर केसी र राजेन्द्र साँखी छन् । पक्राउ परेकाहरुलाई निशर्त रिहाई गर्नु पर्ने पत्रकार सम्मेलनमा संघका अध्यक्ष केसीले वताए । नेपाल कुखुरा पालक किसान संघका केन्द्रिय अध्यक्ष झनक पौडेलले विचौलियाबाट द्धन्द्धको सिर्जना भएको वताए । उनले ह्याचरी,दाना उद्योग,सप्लायर्सले किसानप्रति सिण्डीकेट लादेको आरोप लगाए । अण्डाको माग अहिले वढ्दो क्रममा छ । चितवनमा दैनिक ५ हजार पेटी अण्डा उत्पादन हुदै आएको छ ।