सस्तोमा सामान दिने भन्दै ८० लाख ठगी गर्ने तारा ग्याजेड्सको तिन जना पक्राउ

सस्तोमा सामान दिने भन्दै ८० लाख ठगी गर्ने तारा ग्याजेड्सको तिन जना पक्राउ

बिकास पौडेल
काठमाण्डौ , ३१ असार

नेपालमा तारा ग्याजेड्सको नाममा ठगी गर्ने एक गिरोह पक्राउ परेको छ । सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै रकम मागी ठगी गर्ने तिनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

अनलाईन मार्फत विज्ञापन गरी सस्तो मुल्यमा सामानहरु उपलब्ध हुने भन्दै रकम माग्ने र सामान नदिइ ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी मंगलबार काठमाडौं महानगरपालिका १६ खुशिवुबाट भारत उत्तर प्रदेश घर भइ नयाँबजार बस्ने ३० वर्षीय आकिव जावेद, महोत्तरी सोनमा गाउँपालिका ७ घर भएका काठमाडौं क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरी गौशाला नगरपालिका ५ घर भएका नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिनलाई पक्राउ गरेको महानगरिय अपराध महाशाखा टेकुका प्रमुख एसएसपी सहकुल बहादुर थापाले जानकारी दिए ।

उनीहरुले भाइबर , इमो , फेसबुक लगायतको सामाजिक सञ्जालहरुमा तारा ग्याजेड्स नामक पेज बनाई बिदेशबाट ब्रान्डेड ल्यापटप, मोवाईल, क्यामेरा, घडी श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा उपलब्ध हुने विज्ञापन गरी ठगी गरिरहेको खुलेको छ । सामानको लागि उनीहरुले बिभिन्न खातामा अग्रिम रकम हाल्न लगाउने तर सामान उपलब्ध नगराउने गरेको गुनासो आएपछि प्रहरीले उनीहरुको खोजतलाश गरेको थियो । उनीहरुले एक महिनाको अवधिमा ८० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको एसएसपी थापाले बताए । उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।