पत्रकार पुडासैनी मृत्यु प्रकरण : भिडियो सार्वजनिक पछि बल्ल तात्यो प्रहरी , ३ जना नियन्त्रणमा

पत्रकार पुडासैनी मृत्यु प्रकरण : भिडियो सार्वजनिक पछि बल्ल तात्यो प्रहरी , ३ जना नियन्त्रणमा

बिकास पौडेल

चितवन , ३१ साउन

चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको घटनामा नयाँ तरङ आएको छ । पत्रकार पुडासैनीले आफुलाई मर्न बाध्य पारेको भन्दै तिनजनाको नाम लिएको भिडियो सार्वजनिक भएलगत्तै घटनामा नयाँ तरङ आएको हो ।

भिडियो सार्वजनिक भएको भोलिपल्ट नै चितवन प्रहरीले भिडियोमा नाम आएको रावि लामिछाने , युवराज कंडेल र रुकु भनिने अस्मिता कार्कीलाई काठमाडौँबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तिनैजनालाई विहिबार बेलुका नियन्त्रणमा लिएर राति नै चितवन ल्याएको छ । पिडित परिवारबाट किटानी जाहेरी नपरेको भन्दै कसैलाई पक्राउ नगरेकोे प्रहरीले भिडियो सार्वजनिक भएपछि मात्रै ३ जनालाई नियन्त्रणमा लिएको हो ।

पुडासैनीको हत्या भएको वा आत्महत्या भन्ने बारे अन्योल भइरहेको बेला उनको भिडियो सार्वजनिक भएपछि उनले आत्महत्या नै गरेको र भिडियोमा बताए अनुसार रवि लामिछाने , युवराज कंडेल र अस्मिता कार्कीको कारण आफु मर्नबाध्य भएको उल्लेख गरेको देखिन्छ । घटनाको अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

यता प्रहरीले नियन्त्रणमा लिएर परिक्षणको लागि काठमाडौँ पठाएको पुडासैनीको मोबाइलको भिडियो कसरी सार्वजनिक भयो भन्ने बिषयमा प्रहरीनै जानकार छैन । भिडियो कसरी बाहिर आयो र परिक्षणको लागि पठाएको मोबाइलको भिडियो र सार्वजनिक भएको भिडियो एउटै हो वा होइन भन्नेसम्म पनि आफुहरुलाई जानकारी नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए ।