रवि सहित तिनजनालाई ५ दिन हिरासतमा राख्न आदेश

रवि सहित तिनजनालाई ५ दिन हिरासतमा राख्न आदेश

चितवन , ३१ साउन

पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई अदालतले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।

रविसँगै युवराज कंडेल र अस्मिता कार्कीलाई समेत अनुसन्धानको लागि विहिबार बाटै लागुहुने गरि पाँच दिनको म्याद पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए । चितवन जिल्ला अदालतका जिल्ला न्यायधिस विनोद कुमार गौतम शर्माको एकल इजलाशले उनीहरुलाई पाँच दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहश गरेका थिए भने रवि पक्षबाट सुनिल कुमार पोखरेल सहित अन्य दुईजना अधिवक्ताले बहश गरेका थिए । रविको समर्थकहरुले रवि निर्दोष रहेको र उनलाई फसाउन लागेको भन्दै नारावाजी गदै रविलाई रिहा गर्न माग गरेका थिए । सर्मथकहरुले जिल्ला प्रहरी कार्यालयको मुल गेट अगाडी जम्मा भएपछि प्रहरीले पछाडीको बाटो हदै रवि सहित तिनैजनलाई सरकारी वकिलको कार्यालय र अदालत लगेको थियो ।त्यस्तै अदालतमा जिल्ला प्रहरी कार्यालय ल्याउन पनि प्रहरीले समर्थकहरुको आखाँ छल्दै भित्रीबाटो हुदै लगेको थियो ।

सर्मथकहरुले दिनभर जसो जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको मुल गेट अगाडी नारावाजी गर्दै बसेका थिए । मृतक पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने , युवराज कंडेल र अस्मिता कार्कीलाई आफ्नो मृत्युको दोषी बताएका छन् । प्रहरीले तिनैजनालाई विहिबार काठमाडौँबाट नियन्त्रणमा लिएर चितवन ल्याएको थियो ।