दुधको विविधिकरणका लागि नन्दिनी सहकारीको प्रयास, डेरी उद्योग वनाईदै,मन्त्री लामाले गरे शिलान्यास

दुधको  विविधिकरणका लागि नन्दिनी सहकारीको प्रयास, डेरी उद्योग वनाईदै,मन्त्री  लामाले गरे शिलान्यास

मंसिर १ गते । चितवनको खैरहनी नगरपालिका १० शान्तिवजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले डेरी उद्योग निर्माण सुरु गरेको छ । दुग्धजन्य पदार्थ निर्माण गर्ने उदेश्यका साथ निर्माण गर्न लागिएको उद्योग भवनको आईतवार एक समारोहका बीच प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शिलान्यास गरे । शिलान्यास समारोहकलाई सम्वोधन गर्दै सहकारी मन्त्री लामाले समृद्धीको आधार कृषि,पशुपंक्षी,उद्योग र पर्यटन रहेको वताए ।

मुलुक समृद्ध वनाउन संघीय ,प्रदेश र स्थानीय सरकार मिलेर कृषि,पशुपंक्षीलाई प्राथमिकता दिएको भन्दै मन्त्री लामाले कृषकहरु पनि जागरुक हुनु पर्ने धारणा राखे । प्रदेश सरकारले पूर्वी चितवनलाई लक्षित गर्दै डेरी उद्योग स्थापना गर्ने योजना वनाएको भन्दै मन्त्री लामाले जग्गा खोज्न आग्रह समेत गरे । खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले कृषि र पशुपालनको प्रवद्र्धन विना मुलुकको विकास संभव नरहेको औल्याए । किसान सहकारीले दुध वेच्ने मात्र नभई यसबाट वन्ने परिकार वनाउन सके दुवै पक्षलाई फाईदा पुग्ने प्रमुख चौधरीले वताए ।

किसानको हितका लागि खैरहनीमा शीत भण्डार निर्माण भईरहेको,माटो परिक्षण प्रयोगशाला स्थापना गरिएको नगर प्रमुख चौधरीको भनाई थियो । संस्था र संस्थामा आवद्ध शेयर सदस्यहरुबाट रकम संकलन गरेर उद्योग निर्माण गर्न लागिएको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कमलराज थपलियाले वताए । ४५ लाखको लागतमा भवन निर्माण गर्ने र वाँकी ३५ लाख मेसिन खरिद गरि कुल ८० लाख रुपैयाको लागतमा उद्योग स्थापना गर्ने लक्ष्य लिईएको थपलियाले जानकारी दिए । उद्योगबाट मिठाई,आईसक्रिम,पुष्टकारी,ललिपप लगायत दुग्धजन्य पदार्थ उत्पादन गरिने छ । यसअघि सो दुग्ध उत्पादक सहकारी संस्थाले दही,नौनी,पनिर र घीउ उत्पादन गर्दै आएको छ । २०५० सालमा स्थापना भएको सो सहकारीमा हाल दैनिक ३ हजार ५ सय लिटर दुध संकलन हुदै आएको छ । संस्थाका निवर्तमान अध्यक्ष समेत रहेका केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय सदस्य वालकृष्ण उप्रेतीका अनुसार सहकारीले ७५ प्रतिशत अनुदानमा पशु बिमा गरेको,प्रतिलिटर थप ३ रुपैया वोनस दिदै आएको,घाँसको बीउ निशुल्क उपलव्ध गराउँदै आएको, न्युन आय भएका सदस्यहरुलाई वार्षिक ६ प्रतिशतका दरले व्याजदरमा पशुपालन ऋण उपलव्ध गराईएको, पशु सुत्केरी भत्ता गाईलाई ५ सय र भैसीलाई १ हजार रुपैया प्रदान गर्दै आएको छ । केन्द्रिय सदस्य उप्रेती दुधको विविधिकरण विना किसान र दुग्ध उत्पादक सहकारी संस्थाको विकास हुन नसक्ने वताउँछन् ।

नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कमलराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शुशिल कडेंलले स्वागत मन्तव्य राखेका थिए ।  शिलान्यास समारोहका खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी,खैरहनी ७ का वडाध्यक्ष मनेजर चौधरी, राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक डिल्ली प्रसाद थपलिया,परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वरसिंह ओली, शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भुषाल, नवउद्यमी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामचन्द्र पाठक लगायत सहकारीका शेयर सदस्य तथा कृषकहरुको उपस्थिती रहेको थियो ।