गुरुको घर बनाउन जुटे कंकालीका पूर्वविद्यार्थी , घरको शिलान्यास

गुरुको घर बनाउन जुटे कंकालीका पूर्वविद्यार्थी , घरको शिलान्यास

चितवन , १ साउन

चितवनको कंकाली माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु आफ्नो गुरुको घर बनाउन जुटेका छन् । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर १ स्थित कंकाली मा वि का पूर्व विद्यार्थीहरुले आफ्नो गुरु पशुपतिलाल कर्णको लागि आवास बनाउन लागेका हुन् ।

२०२७ सालदेखी २०६९ सम्म कंकाली मा वि अध्यापन गराएका शिक्षक पशुपतिलाल कर्णको घर बनाउन पूर्वविद्यार्थीहरु लागेका छन् । गुरु आवासको रुपमा निर्माण गर्न लागिएको घरको आज जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीले शिलन्यास गरेका छन् । उनले आफ्नो गुरुको लागि विद्यार्थीहरुले सुरु गरेको यो अभियान अनुकरणीय रहेको बताए । जीवनको लामो समय शिक्षणमार्फत ज्ञान बाँड्न बिताएका कर्ण कंकाली माविको जिवित इतिहास भएकाले उनको संरक्षण र सहयोगमा सबै एकजुट हुनुपर्ने उनको भनाई थियो ।

खैरहनी १ का वडाअध्यक्ष भुमि प्रसाद कँडेल, कंकाली मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राज ढुङगाना लगायतले कर्णले पुर्याएको योगदानको चर्चा गर्दै उनको घर निर्माणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । आवास निर्माणको लागि पूर्व विद्यार्थीहरुबाट हालसम्म ७ लाख ३७ हजार रुपैँया संकलन भएको पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । ३ महिनामा घर निर्माण सम्पन्न भइसक्ने र २० लाख लागत लाग्ने अनुमान गरिएको लम्सालले बताए । समाजले कंकाली माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु र अन्य सहयोगी दाताहरुको सहयोगमा घर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

शिलन्यास कार्यक्रममा खैरहनी १ का वडाअध्यक्ष भुमि प्रसाद कँडेल, कंकाली मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राज ढुङगाना लगायतले शिक्षक कर्णले पुर्याएको योगदानको चर्चा गर्दै उनको घर निर्माणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । गुरु आवास निर्माणको लागि पूर्वविद्यार्थीहरुसँगै गायक मिलन लामा, मनोज महतो लगायतले पनि सहयोग गरेको लम्सालले बताए । आफुलाई शिक्षा प्रदान गर्ने गुरुका लागि अभियानकै रुपमा गुरु आवास निर्माण सुरु गरिएकाले सहयोग गर्न समाजले सबैमा अपिलसमेत गरेको छ । विद्यालय अगाडि रहेको कर्णको ७ धुर जग्गामा घर निर्माण गर्न लागिएको हो ।