सौराहामा अनुसन्धानात्मक कार्यशाला,फोहोर व्यवस्थापन गर्न इच्छाशक्ति चाहिन्छ : मेयर वन

सौराहामा अनुसन्धानात्मक कार्यशाला,फोहोर व्यवस्थापन गर्न इच्छाशक्ति चाहिन्छ : मेयर वन

रत्ननगर ०१ कार्तिक । चितवनको सौराहामा शहरीकरण र जलबायु परिर्वतन अनुसन्धान सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी शुक्रवार देखि सुरु भएको छ । अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र विकास र वातावरणीय अर्थशास्त्रको लागि दक्षिण एशियाली सञ्जालको सहयोगमा भरतपुर महानगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा फोहोर व्यवस्थापनको लागि गरिएको अनुसन्धानले देखाएका विषयहरुमा छलफल गरिएको थियो । घरबाट निस्कने फोहोर र फोहोरको बर्गीकरणलाई केन्द्र विन्दु बनाएर अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको सहयोगमा विकास र वातावरणीय अर्थशास्त्रको लागि दक्षिण एशियाली सञ्जालले भरतपुरमा तीन बर्ष लगाएर अनुसन्धान गरेको महानगरका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिए । अनुसन्धानले प्लाष्टिक जन्य फोहोरले फोहोर व्यवस्थापनमा समस्या निम्त्याएको देखाएको घिमिरेले बताए । कार्यक्रममा अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका डा.मणि नेपालले फोहोर व्यवस्थापनका लागि गर्न सकिने प्रयासहरुको बारेमा गरिएको प्रयासको प्रतिवेदन,बंगलादेशकी डा.मुस्तहाले उनको देशमा फोहोर व्यवस्थापनको लागि भएका प्रयास र कृषि तथा वन विज्ञान विश्व विद्यालयका प्रधायापक ऋषिराम कट्टेलले सहरी फोहोर व्यवस्थापन र अपनाउनु पर्ने तरिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी,रत्ननगरमा मेयर नारायण वन,कालिकाका मेयर खुमनारायण श्रेष्ठ,राप्तीकी मेयर प्रभा वराल,माडीका मेयर ढाकुर ढकाल,भरतपुर महानगरका प्रबक्ता अरुण पीडित भण्डारी,विदेशी सरसफाई अभियाताहरु,भरतपुर महानगरपालिकाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले फोहोर व्यवस्थापनका लागि नगरवासीको इच्छाशक्ति आवश्यक रहेको बताए । फोहोरको उचित व्यवस्थापन गर्न फोहोरको बर्गीकरण आवश्यक छ उनले भने त्यसका लागि हरेक घरधुरीबाट फोहोरको बर्गीकरण गर्ने काम सुरु गर्नुपर्छ । उद्घाटन कार्यक्रम भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहको अध्यक्षतमा भएको थियो ।