खैरहनी नगरपालिकाको नयाँ अभ्यास, स्वयमसेवक शिक्षकलाई काम

खैरहनी नगरपालिकाको नयाँ अभ्यास, स्वयमसेवक शिक्षकलाई काम

मंसिर ३ गते । चितवनको खैरहनी नगरपालिकाले स्वयम सेवक शिक्षक नियुक्त गर्न सुरु गरेको छ । कुनै पनि शिक्षक विरामी हुँदा,सुत्केरी विदामा वस्दा विद्यालयको पठनपाठन प्रभावित नहोस भनेर उनीहरु ( विरामी परेका,सुत्केरी विदा वसेका शिक्षक ) नआउँदा सम्म नगरपालिकाले स्वयम सेवक शिक्षक राख्ने व्यवस्था सुरु गरेको हो । जसका कारण शिक्षकको अभाव पूर्ती हुनुका साथै शिक्षाको गुणस्तर विकासमा समेट टेवा पुग्ने खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले वताए । स्वयम सेवक शिक्षक नियुक्त गर्ने खैरहनी नगरपालिका संभवत पहिलो स्थानीय सरकार हो । कुनै पनि विद्यालयमा शिक्षक नभएकै कारण पठनपाठन प्रभावित हुने अवस्था थियो स्थानीय शिक्षा अधिकारी पौड्यालले भने – स्वयम सेवक शिक्षकले त्यस्तो अभाव पूर्ती गरि नियमित पठपाठन हुनेछ । शिक्षकहरु विरामी विदा र सुत्केरी विदा वस्दा पठनपाठनमा समस्या हुदै आएको थियो । स्वयम सेवक शिक्षक नियुक्त गर्न कार्यविधि वनाएरै यस्तो निर्णय लागू भएको हो । पौड्यालका अनुसार ‘प्राप्ताङ्कका आधारमा छनौटको प्रक्रिया र प्राथमिकता निर्धारण गरिने कार्यविधि वनाईएको र सर्टिफिकेटमा लिएको नम्बर वा जीपीएलाई आधार मानेर शिक्षक छनौट भएका छन् ।
आधारभूत र माध्यमिक तहमा सूचीकृत भएका स्थानीय युवाले स्वयंसेवक शिक्षक हुन पाउनेछन् । स्वयंसेवक शिक्षकका लागि नगरपालिकाले आधारभूत तह दस हजार र माध्यमिक तह भएमा मासिक १५ हजार यातायात खर्चका रूपमा भुक्तानी गर्ने खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले वताए । स्वयंसेवक शिक्षकले एकदेखि तीन महिनासम्म पढाउन पाउने भए पनि आवश्यकता अनुसार करार सम्झौताको नवीकरण पनि हुनसक्ने मेयर चौधरीको भनाई छ । स्थानीय बिस्मिता तामाङसँग नगरपालिकाले पहिलो पटक आधारभूत स्वयंसेवक शिक्षक नियुक्तिको सम्झौता गरेको छ । उनलाई कार्तिक २९ गतेदेखी लागू हुने गरि गवै माध्यमिक विद्यालयमा नियुक्त गरिएको हो । काम गर्ने अवसर पाएको भन्दै तामाङले खुसी व्यक्त गरिन् । नगरपालिकामा रहेका २७ वटा सामुदायिक विद्यालयका लागि पहिलो चरणमा आधारभूत तहमा १४ र माध्यमिक तहमा ६ जना युवाले स्वयंसेवक शिक्षक हुन पाउँ भनी सूचीकृत भएका छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा स्वयंसेवक शिक्षक कार्यक्रमका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ ।