चितवन मेडिकल कलेजलाई कारबाही गर्न सिडियोलाई ध्यानाकर्षण

चितवन मेडिकल कलेजलाई कारबाही गर्न सिडियोलाई ध्यानाकर्षण

चितवन , २ असोज

चितवन मेडिकल कलेजले विद्यार्थीहरुबाट अबैध रुपमा धेरै शुल्क लिएको भन्दै कलेजलाई कारबाही गर्न विद्यार्थी तथा अभिभावकहरुले माग गरेका छन् । विद्यार्थी तथा अभिभावकहरुले आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

चितवन मेडिकल कलेजले विद्यार्थीहरुबाट अतिरित्त शुल्क लिएको बिषयमा आन्दोलन गर्दा प्रशासनले विद्यार्थीमाथी दमन गरेको तर मेडिकल कलेजलाई कारबाही नगरेको भन्दै यथाशिघ्र चितवन मेडिकल कलेजलाई कारबाही गर्न माग गरे । चितवन मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थानले तोकेको भन्दा बढी लाखौ रकम माग गरेको र उक्त रकमको रसिद नदिने गरेको भन्दै विद्यार्थीहरु आन्दोलित हुनै आएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यो समस्या चितवन मेडिकल कलेजको मात्रै नभई त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त देशभरको मेडिकल कलेजको समस्या भएकाले माथिल्लो तहबाटै समाधान हुनुपर्ने बताए । कलेजले विद्यार्थीबाट अवैधरुपमा अतिरित्त शुल्क लिएको प्रमाण भए कानुन अनुसार कारबाही प्रक्रिया अगाडी बढाउने प्रमुख जिल्ला अधिकारी बस्नेतले प्रतिवद्धता व्यक्त गरे ।