राप्ती महोत्सवको बालउद्यानमा करछलीको प्रयास , एउटै नम्बरको ४ वटा टिकट

चितवन , ३ कार्तिक। 
पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ७ विरेन्द्रनगरमा जारी प्रथम राप्ती महोत्सवमा एउटै नम्बरको ४ वटा टिकट फेला परेको छ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवभित्रको बालउद्यानमा करछली गर्न एउटै नम्बरको ४ वटा टिकट बिक्री गरेको भेटिएको छ ।

टिकटमा प्यान /भ्याट नम्बर केहि पनि उल्लेख गरिएको छैन । यसरी प्यान /भ्याट नम्बर उल्लेख नगरी टिकट बिक्री गर्न नपाइने आन्तिरक राजश्व कार्यालय भरतपुरका सूचना अधिकारी धनिश्वर अर्यालले बताए । चारवटा टिकटमा एउटै नम्बर हालेर बिक्री गर्नु कानुन विपरित भएको र त्यस्तो गर्नेलाई कारबाही गरिने उनले प्रष्ट पारे ।