दोहोरो कर लिएको भन्दै कवाड व्यवसायीहरुद्धारा विरोध प्रदर्शन

दोहोरो कर लिएको भन्दै कवाड व्यवसायीहरुद्धारा विरोध प्रदर्शन

चितवन , ३ कार्तिक।

चितवनको खैरहनी नगरपालिकाले दोहोरो कर लिएको भन्दै कवाड व्यवसायीहरुले विरोध गरेका छन् । आन्तरिक राजस्व कार्यालयलाई १३ प्रतिशत राजस्व तिरिरहेको अवस्थामा खैरहनी नगरपालिकाले समेत प्रत्येक सामानमा कर लिने गरेको भन्दै व्यवसायीहरुले विरोध गरेका हुन् ।

व्यवसायीहरुले दोहोरो कर बन्द गर, व्यवसायिक वातावरण सिर्जना गर जस्ता नारासहितको प्लेकार्ड बोकेर शनिबार विरोध प्रदर्शन गर्दै पर्सा बजार परिक्रमा गरेका छन् । चितवन कवाडी व्यवसायी संघका अध्यक्ष शंकर केसीकाअनुसार नगरपालिकाबाट ठेक्का लिएर ठेकेदारले प्रति बोत्तल एक रुपैयाँ, प्रतिकिलो फलाममा दुई रुपैयाँ, प्रति किलो टिनमा एक रुपैयाँ शुल्क लिने गरेका छन् । कवाड व्यवसायीले सरकारलाई भ्याट, नगरपालिकालाई व्यवसायिक कर तथा साना तथा घरेलु उद्योग कार्यालयमा पनि कर तिर्दा समेत नगरपालिकालाई थप कर तिर्नुपरेपछि आफूहरुले व्यवसाय गर्ने वातावरण नभएको केसीले बताए ।

नगरपालिकाबाट ठेकेदारले उठाउने शुल्क खारेज हुनुपर्ने केसीको भनाइ छ । व्यवसायी सुधामा साहले ट्रकमा सामान लोड गरेर पठाउँदा आफूले ठेकेदारलाई छुट्टै कर तिरेको गुनासो गरे । १० टन फलाम बिक्री गर्दा १३ प्रतिशत कर राजस्वमा बुझाए पनि नगरपालिकालाई छुट्टै २० हजार रुपैयाँ शुल्क बुझाउन बाध्य भएको साहले बताए । व्यवसाय दर्ता शुल्क , आयकर , कवाडी कर फरक रहेको भन्दै नगरपालिकाले संकलन गरेको कवाडी कर भएको र उक्त कर संकलन गर्ने व्यवस्था स्थानिय सरकार संचालन ऐनमा रहेको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले बताए । कर लिनै हुन्न भन्नु जायज नभएको बरु केहि छलफल गर्नुपर्ने भए नगरपालिका तयार रहेको उनले बताए ।