बीरेन्द्रनगरमा तरकारी संकलन केन्द्र निर्माण,आयव्यय सार्वजनिक

बीरेन्द्रनगरमा तरकारी संकलन केन्द्र निर्माण,आयव्यय सार्वजनिक

चितवन , ३ कार्तिक ।

चितवनको राप्ती नगरपालिका ८ बीरेन्द्रनगरमा फलफुल तथा तरकारी संकलन केन्द्र निर्माण गरिएको छ । साना किसान कृषि सहकारी संस्था बीरेन्द्रनगर,सहकारी वजार विकास कार्यक्रम( सिएमडिपी ) जिल्ला सहकारी संघ,राप्ती नगरपालिकाको सयुक्त लगानीमा केन्द्र निर्माण गरिएको हो ।

केन्द्र निर्माणमा भएको आम्दानी र खर्चको विवरण एक औपचारीक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । कुल १५ लाख ७७ हजार ३५० रुपैयामा तरकारी संकलन केन्द्र निर्माण गरिएको हो । जस मध्ये ४ लाख ७३ हजार २०५ रुपैया साना किसान कृषि सहकारी संस्था र वाँकी ११ लाख ४ हजार १४५ रुपैया अनुदान रकमबाट केन्द्र निर्माण गरिएको सहकारीका मुख्य प्रवन्धक पुष्पराज रानाले जानकारी दिए । राप्ती नगरपालिका प्रमुख प्रभा वरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भवन निर्माण समिति संयोजक एवंम् सहकारीका उपाध्यक्ष वालानन्द कंडेलले आयव्यय विवरण प्रस्तुत गरेका थिए । तरकारी संकलन केन्द्र यसै वर्ष देखी संचालन गर्ने तयारी गरिएको छ । केन्द्र संचालन पछि राप्ती नगरपालिका ७,८ र ९ का किसानहरु लाभान्वित हुने सहकारीका मुख्य प्रवन्धक रानाले वताए ।

सहकारीका अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती ८ का वडा अध्यक्ष वुद्धिराज थपलिया,सहकारी वजार विकास कार्यक्रम चितवनका संयोजक कृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । संघीय सरकारको कार्यक्रम अन्र्तगत पहिलो चरणमा ६ वटा जिल्लामा सहकारी वजार विकास कार्यक्रम लागू गरिएको छ । जिल्ला सहकारी संघ चितवनका उपाध्यक्ष एवंम् सहकारी वजार विकास कार्यक्रमका फोकल पर्सन समेत रहेका साना किसान कृषि सहकारी संस्था बीरेन्द्रनगरका अध्यक्ष हरि प्रसाद पौडेलका अनुसार चितवनसहित,मकवानपुर,धादिङ,नुवाकोट,ललितपुर र काभ्रेमा सहकारी वजार विकास कार्यक्रम लागू भएको छ । चितवनको राप्ती,कालिका र रत्ननगर नगरपालिका यो कार्यक्रमका लागि छनौट भएको छ । प्रत्येक नगरपालिकामा ४,४ वटा कृषि सहकारी संस्थामा तरकारी तथा फलफुल संकलन केन्द्र निर्माण गर्न लागिएको हो । हाल सम्म ६ वटा कृषि सहकारी संस्थाले केन्द्र निर्माण गरिसकेको र वाँकी ६ वटाले यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्ने सहकारी वजार विकास कार्यक्रमका फोकल पर्सन पौडेलले वताए । केन्द्र संचालन पछि तरकारी र फलफुलमा प्रयोग हुने विषादी विस्तारै न्युनिकरण हुने र किसानले व्यापारी खोज्दै जानु पर्ने वाध्यताको अन्त्य हुने पौडेलको विश्वास छ ।