रत्ननगरमा सुरु भयो शुल्कमा आधारित फोहोर संकलन

रत्ननगरमा सुरु भयो शुल्कमा आधारित फोहोर संकलन

कार्तिक ३ गते । चितवनको रत्ननगर नगरपालिकामा शुल्कमा आधारित फोहोर संकलनको काम सुरु भएको छ । निजी संस्था श्रीमाता कंकालीमाई उद्योग प्रा.लि. काठमाडौंले कार्तिक १ गतेदेखी फोहोर संकलन तथा व्यवस्थापनको काम सुरु गरेको हो ।
फोहोर संकलन तथा व्यवस्थापनका लागि निजी संस्थासंग १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले जानकारी दिए । प्रा.लि.ले बार्षिक १० लाख ६६ हजार रुपैया नगरपालिकालाई बुझाउने गरी फोहोर संकलनको जिम्मेवारी दिइएको उनले जानकारी दिए । रत्ननगरमा दैनिक करिब २५ टन फोहोर संकलन हुन्छ । नगरपालिकाले संकलित फोहोर पञ्चकन्या सामुदायिक वनमा रहेको डम्पीङ साइडमा लगेर राख्ने गरेको छ । डम्पीङ साइडमा राखिएको फोहोरलाई बर्गीकरण गर्ने, सडने र नसडने फोहोर छुट्याएर सडने फाहोरबाट कम्पोष्ट मल र नसड्ने फोहोर पुन प्रशोधन गरी विक्री गर्ने गरी सम्झौता भएको छ । रत्ननगरमा सरसफाई शुल्क वापत बार्षिक २२ लाख रुपैया संकलन हुने र फोहोर संकलनको लागि करिब एक करोड रुपैया खर्च हुदै आएको छ ।

मेयर नारायण वनले फोहोरलाई नयाँ ढंगबाट व्यवस्थापन गर्ने गरी निजी संस्थालाई जिम्मेवारी दिइएको बताए । प्रा.लि.का कार्यकारी निर्देशक सागर रावलले राम्रो काम गरेर रत्ननगरमा उदाहरणीय बन्ने दावी गरे ।
प्रा.लि.ले लिने सरसफाई शुल्क निम्न अनुसार छन् ।
१. आवासीय गाउँका घरले प्रति महिना २५ रुपैया,बजारका घरहरुले ३० रुपैया
२. पसल हाउजिङ कम्पनी,विद्यालय,औषधि पसल,पोल्टी फर्म,छापाखाना,बैंकले बजार क्षेत्रमा भए १०० र गाउँमा भए ७५ रुपैया,
३. छात्रावास,ल्याव,सुपर मार्केट,कवाडी पसल,व्यूटिपार्लर,तरकारी पसल,डिपार्टमेन्टल स्टोर बजार क्षेत्रमा भए २०० र गाउँमा भए १५० रुपैया ।
४. हार्डवेयर पसल,होस्टेल,फ्रेसहाउस,मासु पसल बजार क्षेत्रमा भए ३०० र गाउँमा भए २२५ रुपैया,
५. उद्योग,व्यवसाय ३०० देखि ६०० सम्म
६. होटल तथा रेष्टुरेष्ट २०० देखि १२ सय सम्म
७. सिनेमाहल,पोलिक्लनिक ५००
८. अस्पताल तथा निर्सिङहोम एक हजार,
९. पार्टी प्यालेस तथा क्याटरिङ २ हजार
१०. ठेला व्यापारीलाई मासिक १० रुपैया ।