राप्तीका पहाडी भेगका विद्यार्थीलाई स्वीटर वितरण
पुष ४ गते । चितवनको राप्ती नगरपालिकाको पहाडी वडाहरुका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । स्थानीय सरकारको रुपमा रहेको राप्ती नगरपालिकाले पहाडी भेगमा रहेका वडा नम्वर १०,११,१२ र १३ का बाल विकास कक्षादेखी कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई एक एक थान स्वीटर वितरण गरेको हो । राप्तीको चार वटा वडामा २६ वटा सरकारी विद्यालय छन् भने त्यहाँ २ हजार ८ सय विद्यार्थी अध्ययनरत रहेको स्थानीय शिक्षा अधिकारी शम्भु प्रसाद पौडेलले वताए । ति सवै विद्यार्थीहरुलाई स्वीटर वितरणका लागि नगर परिषदबाटै वजेट विनियोजन गरिएको थियो । स्वीटर वितरणका लागि राप्ती नगर प्रमुख प्रभा वरालको नेतृत्वमा सामाजिक विकास समिति,शिक्षा समितिका सदस्यहरु विद्यालयमै पुगेका थिए । केही विद्यालयमा वितरण गर्न वाँकी रहेको र केही विद्यालयहरुमा वडाअध्यक्षहरुलेनै वितरण गरेका स्थानीय शिक्षा अधिकारी पौडेलले वताए । विगतमा गैरसरकारी संघसंस्थाहरुले वितरण गर्ने गरेको न्यानो कपडा प्रभावकारी नभएपछि चालु आर्थिक वर्षदेखी नगरपालिका आफैले वितरण गरेको नगर प्रमुख प्रभा वराले वताईन् । स्वीटर वितरणका लागि नगर प्रमुख बरालको नेतृत्वमा स्थानीय शिक्षा अधिकारी पौडेल,सामाजिक विकास समिति संयोजक पुष्पा कुँवर,श्रोत व्यक्ती सोमनाथ तिवारी,शिक्षा समिति सदस्य महेश्वर लामिछाने लगायतको टोली विद्यालय विद्यालय पुगेका थिए ।