नारायणी नदीमा मिनि पानी जहाज चल्ने

नारायणी नदीमा मिनि पानी जहाज चल्ने

चितवन , ४ साउन 

चितवनको नारायणी नदीमा रिभर क्रुजशिप ( मिनी पानी जहाज ) संचालनमा आउने भएको छ । नेपालमै पहिलो पटक भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रिभर क्रुजशिप ( मिनि पानी जहाज ) संचालन गर्ने तयारी भइरहेको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएइको हो ।

राईनो वाटर इन्टरटेनमेन्ट प्रा लि ले दशैसम्ममा नारायणी नदीमा मिनी पानीजहाज संचालनमा ल्याउने तयारी गरेको हो । करिब ३५ करोडको लागतमा निर्माण सम्पन्न हुने रिभर क्रुजशिपमा एकपटकमा दुई सयजनाले यात्रा गर्न मिल्ने राईनो वाटर इन्टरटेनमेन्ट प्रा लि का प्रबन्ध निर्देशक रामचन्द्र कंडेलले जानकारी दिए । रिभर क्रुजशिप करिब १ सय फिट लम्बाई ,२५ फिट चौडाइ र दुईतल्लाको हुनेछ ।

रिभर क्रुजशिपलाई ब्रेकफास्ट क्रुज , लन्च क्रुज र डिनर क्रुज गरि तिनवटा शिफ्टमा संचालन गरिने कंडेलले बताए । काप्रेघाटदेखी देवघाटसम्म करिब ३ घण्टाको रिभर क्रुजशिपको यात्रामा यात्रुहरुलाई क्रुजमा नै नास्ता र खानाको व्यवस्था हुनेछ । रिभर क्रुजशिप निर्माणको काम तिब्र गतिमा भइरहेको र असोजसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य संचालकहरुले लिएका छन् । नारायणी नदीमा रिभर क्रुजशिप संचालनको सम्भाव्यता प्राविधिक टोलीबाट भइसकेको र सोहि अनुसार भारतका दक्ष प्रविधिक सहितको टोलीबाट रिभर क्रुजशिप निर्माणको काम भइरहेको छ ।