समाचारको प्रभाव : राप्ती महोत्सवमा राजश्व कार्यालयको अनुमगन

समाचारको प्रभाव : राप्ती महोत्सवमा राजश्व कार्यालयको अनुमगन

चितवन , ४ कार्तिक। 
चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ विरेन्द्रनगरमा संचालनमा रहेको प्रथम राप्ती महोत्सवमा आन्तरीक राजश्व कार्यालयले अनुगमन गरेको छ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको महोत्सवको बाल उद्यानमा कर छलीको प्रयास भएको र एउटै नम्बरको ४ वटा टिकट बिक्री भएको समाचार समावेशी खबरमा आइतबार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन भएपछि सोमबार कर अधिकृत सहितको टोली अनुगमनमा पुगेको थियो । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत सुरज कुमार विश्वकर्मा सहितको टोलीले बाल उद्यानमा प्रयोग भएको टिकटको अनुगमन गरेको थियो । समावेशी खबरमा समाचार प्रकाशन भएपछि आयोजकले अर्को टिकटको व्यवस्था गरेको पाइएको छ । अर्को टिकट व्यवस्थाको लागि सोमबार दिउँसो करिब ३ बजेसम्म बालउद्यान संचालन नगरिएको तर त्यसपछि अर्को टिकट ल्याएर बाल उद्यान संचालन गरिएको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कंडेलले बताए । अनुगमन टोलीले बाल उद्यानले यसअघि कति टिकट बिक्री गरेको बारे अनुसन्धान गर्न बाल उद्यानको हिसाव लेखिएको खाता समेत नियन्त्रणमा लिएको र अन्य कागजपत्र सहित कार्यलयमा आउन निर्देशन दिएको छ ।


त्यस्तै आज नै जिल्ला प्रशासन कार्यालय , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय , उपभोक्ता अधिकार मञ्जको टोलीले समेत महोत्सवको अनुगमन गरेको छ । महोत्सवभित्र रहेका खाद्यका स्टलहरुले खुल्ला रुपमा खाद्य पदार्थ बिक्री वितरण गरेको भेटिएको थियो भने म्याद गुज्रेको पेय पदार्थ समेत फेला परेको थियो । खुल्ला रुपमा बिक्री भइरहेको खाद्य पदार्थलाई व्यवस्थीत गरेर बिक्री गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रदिप काफ्लेले जानकारी दिए ।