ढुवानी साधनमा अनुगमन प्रणाली सम्बन्धि एक दिने प्रशिक्षण

ढुवानी साधनमा अनुगमन प्रणाली सम्बन्धि एक दिने प्रशिक्षण

चितवन , ५ मंसिर ।
नेपाल ह्याचरी उद्योग संघ चितवन शाखाको आयोजनामा मालवस्तु तथा ढुवानी साधनमा अनुगमन प्रणाली सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम भरतपुरमा भएको छ । सरकारले गत श्रावणबाट मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भिटिएस लागु गर्ने भनेपनि व्यवसायीहरु तयार नभएको भनि सरकारले कार्तिकबाट मात्र यो प्रणाली लागु गरेपछि यसको बारेमा ह्याचरी सञ्चालकलाई जानकारी दिन कार्यक्रम राखिएको नेपाल ह्याचरी उद्योग संघ चितवन शाखाका अध्यक्ष ज्ञान बहादुर बिसुरालले जानकारी दिए ।

उनले मालबस्तु ढुवानी गर्दा मालसामानका जानकारी, बिवरण, गाडी नं. लगाएतका जानकारी राजस्व अनुसन्धान बिभागकोमा ईन्ट्रि गरेर ढुवानी प्रक्रियालाई अगाडी बढाउनुनै मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भएको बताए । कार्यक्रमका प्रमुख अतिथी नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष टिकाराम पोख्रेलले ह्याचरीको ढुवानी भनेको जिवित चिजको ढुवानी भएको कारणले गर्दा खासगरि ट्रान्जिट मृत्युदर तथा ट्रान्जिट लगआउटलाई यो प्रणालीमा कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने सिक्नमा यो प्रशिक्षण फलदायी हुनेमा जोड दिए ।

कार्यक्रममा चार्टर एकाउन्टेण्ट सन्तोष रेग्मि र शुशिल घिमिरेले सहभागिलाई सहजिकरण गरेका थिए । कार्यक्रममा कुखुरा ब्यवसायी मञ्चका अध्यक्ष ऋषीराम पौडेल, कुखुरा ब्यवसायी मञ्चका उपाध्यक्ष राजेन्द्र लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।