चितवन मेडिकल कलेज र विद्यार्थीबीच सहमति , विद्यार्थीबाट लिएको अतिरिक्त रकम फिर्ता गरिने

चितवन मेडिकल कलेज र विद्यार्थीबीच सहमति , विद्यार्थीबाट लिएको अतिरिक्त रकम फिर्ता गरिने

विकास पौडेल
चितवन , ४ असोज

चितवन मेडिकल कलेज (सिएमसी ) र आन्दोलनरत विद्यार्थीबिच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा भएको वार्तामा दुवैपक्षबिच सहमति भइ विद्यार्थीको आन्दोलनको सबै कार्यक्रम स्थगित भएको छ ।

कलेजले विद्यार्थीहरुबाट लिएको अतिरिक्त रकम तिस कार्यदिनभित्र फिर्ता तथा समायोजन गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । कलेजले विद्यार्थीहरुबाट लिएको रकमको एकिन गर्न साँत सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।विद्यार्थीहरुबाट कलेजले असुल गरेको शुल्क र कति रकम फिर्ता तथा समायोजन गर्नुपर्ने भन्ने बारे एकिन गर्न टेक प्रसाद चापागाईको संयोजकत्वमा विद्यार्थी , कलेज प्रशासन , जिल्ला प्रशासन कार्यालय , शिक्षा विकास तथा समन्वय इकाईको प्रतिनिधि सहितको कार्यदल गठन गरिएको छ । कार्यदलले असोज १० गतेभित्र प्रतिवेदन दिनेगरि सहमति भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

छलफलमा कलेज प्रशासनले सरकारले तोकेको भन्दा बढी रकम लिएको स्विकार गरेको र त्यो रकम फिर्ता तथा समायोजन गर्ने कलेजका प्रमुख डा. हरिशचन्द्र न्योपानेले प्रतिवद्धता जनाएकाले अहिलेलाई चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलन स्थगित गरिएको विद्यार्थी प्रकाश चन्दले बताए । देशका अन्य कलेजले पनि विद्यार्थीहरुबाट लिएको अतिरित्त शुल्क फिर्ता गर्नुपर्ने उनले माग गरे ।

मन्त्री परिषदको गत असोज २८ गते वसेको वैठकले चिकित्सा शिक्षा अन्र्तगत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौ उपत्यकामा ३८ लाख ५० हजार रुपैया तथा उपत्यका वाहिर ४२ लाख ४५ हजार तथा बीडिएसका लागि १९ लाख ३२ हजार ६१२ रुपैया शुल्क निर्धारण गरेको थियो । तर त्यस भन्दा करिव १२ लाख सम्म वढि शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित थिए ।