दुर्घटना न्युनिकरणमा सवै जिम्मेवार
पुष ६ गते । सवारी दुर्घटना वढ्दै गईरहेका वेला सरोकारवालाहरुले दुर्घटना न्युनिकरणमा सवै पक्ष जिम्मेवार हुनु पर्ने वताएका छन् । चितवनमा प्रत्येक दिन सवारी दुर्घटना भईरहेका छन् । दैनिक हुने दुर्घटनामा कतिपयले ज्यान गुमाईरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आईतवार जिल्लाको खैरहनीमा आयोजना गरेको सवारी चालक तथा जनसमुदायलाई ट्राफिक सचेतना कार्यक्रममा सरोकारवालाहरुले दुर्घटनामा ट्राफिक प्रहरी,चालक,सडक ,सवारी लगायत सवै पक्षको कमजोरी हुने वताए । सवै पक्ष जिम्मेवार हुन सके दुर्घटना धेरै हद सम्म नियन्त्रण हुने खैरहनी नगरपालिका मेयर लालमणी चौधरीले वताए । कागजपत्र नहुने चालकहरुले ट्राफिकको नजर छल्दा दुर्घटना भईरहेका छन् मेयर चौधरीले भने – अनुमति पत्र लिएर,सवारी चुस्त राखे ५० प्रतिशत दुर्घटना न्युनिकरण हुन्छ । मेयर चौधरीले सडकको अवस्थाका कारण पनि दुर्घटना हुने भएकाले आफ्नो नगर भित्रको सडक प्रति नगरपालिका सचेत रहेको वताए । दुर्घटना न्युनिकरणका लागि खैरहनी १ मा गत वर्ष ४ वटा सिसि क्यामेरा राखिएको भन्दै यो वर्ष खैरहनी ८ मा ५ वटा क्यामेरा राख्ने योजना रहेको मेयर चौधरीले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक निरीक्षक चन्द्र कुमार गिरीले चितवनमा अत्याधिक दुर्घटना भएको भन्दै ट्राफिकको लागि ट्राफिक नियम पालना गर्ने गर्दा दुर्घटना वढेको वताए । अटोमा क्षमता भन्दा वढि यात्रु राख्नु,मोटरसाईकलको गति तीव्र हुनु दुर्घटनाको कारक हो । केही दिन अघि राप्ती नगरपालिका ५ को चौकी डाँडामा अटो दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका थिए । नजिक चितवनमा अरु सवारीको तुलनामा मोटरसाईकल दुर्घटना धेरै छ । चालकसहित ४ जनाले मात्र अटोमा यात्रा गर्नु पर्ने ट्राफिक प्रमुख गिरीले वताए । अनुमति पत्र नभएका चालकले सवारी चलाए कारवाही गरिने भन्दै उनले कागजपत्र नभएकालाई साधन थन्काउन निर्देशन दिए । कार्यक्रममा खैरहनी नगरपालिका १ का वडाध्यक्ष भुमी प्रसाद कडेंल,मुक्तीनगर यातायात व्यवसायी समितिका अध्यक्ष लक्ष्मण भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक नायव निरीक्षक कृष्ण ठकुरीले सानो लापरवाहीले दुर्घटना वढ्दो रुपमा रहेको भन्दै यात्रा सुखद वनाउन सवै गंभीर हुनु पर्ने वताए । कार्यक्रममा सहभागी अटो चालकहरु र स्थानीय क्लवका प्रतिनिधीहरुलाई ट्राफिक नायव निरीक्षक ठकुरीले दुर्घटना न्युनिकरणमा अपनाउन सकिने उपायकाबारे प्रशिक्षण दिएका थिए ।